सीमा विवाद भन्दा काँडेतार लगाऔं : माधव नेपाल

बैशाख २९, २०७७ काठमाडौं

काठमाडौँ — नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतसँग सँधै सीमा विवाद भइरहनुभन्दा सीमानामा काँडेतार लगाउन उचित हुने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सोमबार बिहानको छलफलमा उनले नेपालले अब आफ्नो सीमाको नियमन र नियन्त्रणमा जानुपर्ने बेला आएको पनि बताए ।  

उनले सबै खालका तथ्य र तर्कका साथ भारत र चीन सरकारसँग कुरा गर्नुपर्ने पनि बताए । चीन सरकारसँग पनि कुरा गर्नुपर्छ । ‘दुवै देशसँग कुरा गरेर सीमाको विवाद सुल्झाउन सरकारले तत्काल प्रयास थाल्नुपर्छ । अनि आफ्नो सीमामा सीमामा भवन निर्माण गर्ने र सुरक्षाकर्मी राख्ने उचित प्रबन्ध गर्नुपर्छ,’ उनले भने ।

उनले नेपालमा भारतविरोधी भावना बढेकोमा भारतीय शासकहरुमा चिन्ता बढेको देखिने भन्दै नेपालको भूमिमाथि नै दावा गर्ने भारतका कामले यस्तो भएको पनि बताए ।

‘सानो छिमेकी राष्ट्रप्रति भारतको धारणा ठीक छैन कि भन्ने गम्भीर आशंका भएको छ । नेपाल र भारतबीचमा भएका सन्धिलाई भारतले उल्लंघन गरेको छ । नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको छ,’ उनले भने ।

उनले नेपालको पश्चिम सीमाना लिम्पियाधुरामा पर्ने भन्दै काली नदी नै सीमा नदी हो भन्ने नक्सा र तथ्य प्रमाण भएको बताए । ‘लिम्पियाधुराबाट बग्ने काली नै सीमाना नदी हो भन्ने दस्तावेजहरू पनि पर्याप्त छन्,’ उनले भने, ‘यो कुरा भारत सरकारले पनि त्यतिबेला स्वीकार गरिसकेको ।’

उनले सरकारले भिडियो कन्फ्रेन्समार्फत् भारतसँग कुरा गर्नुपर्ने पनि बताए । यसमा कोरोना भनेर आलटाल गर्नु नहुने पनि उनले बताए ।

उनले नेपालले आफ्नो सबै भूमि समेटेको नक्सा सार्वजनिक गरिहाल्नु पर्ने पनि बताए । भूमि सुधारमन्त्री पद्मा अर्यालले दुई सय वर्षदेखि लिपुलेक क्षेत्र नेपालको नक्सामा छैन भन्ने अभिव्यक्ति दिएको आफूले सुनेको भन्दै उनले यो कुरा गलत भएको पनि बताए । आफ्नै पार्टीकी मन्त्रीको अभिव्यक्तिबारे उनले भने ‘मन्त्रीले यस्तो कुरा बोलेको हो भने सरकारलाई विवादित बनाउने अभिव्यक्ति दिनु हुन्न । बोलेको होइन भने खण्डन दिनुपर्छ । र नक्सा तत्काल सार्वजनिक गर्नुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation