सुर्खेत । सुर्खेतको बराहाताल गाउँपालिकाका रहेका एकजनालाई सर्पले टोकेका बिरामीलाई कोरोना पोजेटिभ देखिँदा कर्णाली प्रदेश अस्पतालको इमर्जेन्सी सेवा प्रभावित भएको छ।समयमा सही कुराको जानकारी नहुँदा समस्या भएको प्रदेश अस्पतालले जनाएको छ। सर्पले टोकेका ५० वर्षीय पुरुष ७ दिनअघि भारतबाट आएको र उनलाई क्वारेन्टाईनमा बसेकै बेला सर्पले टोकेको बराहाताल गाँउपालिकाले जनाएको छ।भारतबाट आएको र क्वारेन्टाइनमा बसेको भन्ने थाहा नहुँदा नर्मल अस्पतालमा राखेर उपचार गरिएको थियो।’ प्रदेश अस्पतालका डाक्टर केएन पौडेलले भने,’पछि पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो।’डा. पौडेलका अनुसार क्वारेन्टाईनमा बसेको भन्ने जानकारी नहुँदा नर्मल वार्डमा राखेर उपचार गरिएकोले सो वार्डमा सरसफाइ गर्नुपर्ने भएकाले इमर्जेन्सी सेवा केही प्रभावित भएको छ। सरसफाइपछि अस्पतालको ईर्मेजेन्सी सेवा सुचारु हुने छ।‘बिहान आठ बजे एम्बुलेन्सले अस्पतालको गेटमा बिरामी छोडेको थियो, बिरामी एक्कासी भित्र पसे, मदिरा पिएजस्तै लर्बराएर हिँडिरहेका थिए, सर्पले कहाँ टोकेको भनेर सोध्दा, निधारमा टोकेको भन्ने थाहा भयो, विष छिट्टै फैलन सक्ने भएकाले हतारहतार इर्मेजेन्सीमा उपचार गर्न लिईयो’, प्रदेश अस्पतालका एक कर्मचारीले भने, स्वास्थ्यकर्मी बिरामी बचाउनेतिर लागे, पछि सोध्दा पो थाहा भयो बिरामी क्वारेन्टाइनमा बसेकै बेला सर्पले टोकेको रहेछ।’प्रदेश अस्पतालका अनुसार पहिले आरडिटी परीक्षण गर्दा नेगेटिभ आएको थियो, पछि पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। अहिले उनलाई कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ।बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका ५ जना डाक्टर तथा स्वास्थ्यकर्मीलाई पनि अस्पतालको क्वारेन्टाइनमा राखिएको अस्पतालले जानकारी दिएको छ।
साभार नया नेपाल