अस्पतालले भर्ना नलिएपछि प्यूठानका एक युवककाे उपचारकाे अभाववमा मृत्यु

रुपन्देही- क्वारेन्टाइनमा बस्दाबस्दै बिरामी भएका व्यक्तिको उपचार गर्न अस्पतालहरुले नमान्दा प्युठानका १८ वर्षीय युवकले घण्टौंसम्म छट्पटाएर ज्यान गुमाएको खुलेको छ ।
दाङको विकट बंगलाचुली गाउँपालिका-६ को क्वारेन्टिनमा तीन हप्तासम्म बसेका प्युठानको माण्डवी-४ का राजु कार्कीले उपचारको खोजीमा एकपछि अर्को अस्पतालमा भौंतारिदा ज्यान गुमाउन पुगेका हुन् ।हात-खुट्टा काँप्ने, नाक र मुखबाट रगत निस्कने समस्या देखिएपछि उनलाई गाउँपालिकाले एम्बुलेन्समा शुक्रबार साँझ दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठायो । भारतको गोरखपुरबाट आएर राजुसँगै क्वारेन्टिनमै बसेका भीमबहादुर वलीले राति करिब १० बजे उनलाई अस्पताल पुर्‍याएका थिए । ‘शुरुमा चार-पाँच जना डाक्टरहरुले बाहिरै एकछिन हेर्नुभयो, क्वारेन्टिनमा बसेको कुरा थाहा पाउनुभयो, त्यसपछि यहाँ आइसोलेसन छैन, अन्त लैजानुस् भन्नुभयो,’ बिरामीसँगै अस्पताल गएका वलीले भने, ‘इमर्जेन्सीमा लगेर उपचार गर्नुपर्ने बिरामी रातभर फलामको बेन्चमा छट्पटाएर बस्नुपर्‍यो ।’
बिरामी छट्पटाएको देखेर सहन नसकेपछि बिहान ४ बजेतिर आफू कराएपछि बल्ल स्वास्थ्यकर्मी आएर दुईवटा सुई लगाइदिएको र स्लाइन पानी चढाएको वलीले बताए । ‘रातको समयमा म एक्लै थिएँ, कतै लैजान सकिनँ, अस्पतालका डाक्टरले बिरामीलाई बचाउनुपर्छ भनेर उपचार गरेको भए ज्यान नजान सक्थ्यो,’ वलीले टेलिफोनमा भने, ‘सुई र स्लाइन दिएपछि बिरामीमा बिहानपख केही सुधार पनि भएको थियो, शुरुमै बेडमा राखेर उपचार गरेको भए यस्तो हुन्थेन ।’
अस्पतालले राति नै बिरामीलाई अन्त लैजानुस् भनेको तर एम्बुलेन्स भने नभएको जानकारी गराएको वलीले बताए । ‘गाउँपालिकाले पठाएको एम्बुलेन्स बिरामीलाई छाडेर फर्किसकेको थियो, अस्पतालले पनि छैन भन्यो,’ वलीले खुलाए । जेठ ३१ गते बिहान प्रतिष्ठानकी एकजना डाक्टर आएर ‘राति नै लैजान भनेको अहिलेसम्म किन यहीँ राखेको,’ भन्दै दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा पठाएको वलीले बताए । ७ बजेतिर बेलझुण्डी पुर्‍याउँदा अस्पतालले बिरामीको रिपोर्ट हेरेर यहाँ बेड खाली छैन भन्दै बुटवल वा नेपालगन्ज लैजान भनेको उनले जानकारी दिए । ‘त्यति बेलासम्म बिरामीको हालत झनै खराब भइसकेको थियो,’ वलीले भने, ‘अक्सिजनको मात्रा एकदमै कम ९४६ प्रतिशत० भएको रहेछ, घोराहीमा अक्सिजन खोजेर बुटवल जान हिँड्यौं, तर कपिलवस्तुको चन्द्रौटा भन्दा केही पर पुग्दा राजुको ज्यान गयो ।’
जेठ ११ गते भुटनेटाको क्वारेन्टिनमा बस्न आउंदा उनको स्वास्थ्यमा कुनै समस्या थिएन । त्यसअघि दुई दिनसम्म उनी वडा नंं.७ को झेलनेटाको अर्को क्वारेन्टिनमा बसेका थिए । जेठ २१ गते मात्रै उनको स्वाब संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको ल्याबमा पठाइएको थियो । उनको पीसीआर रिपोर्ट भने मृत्यु भएको केही घण्टापछि नेगेटिभ आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation