चढ्दै नचढेको गाडीको सांसदहरुले लिए लाखौं यातायात भत्ता

काठमाडौं ।  सांसदहरु विधायिकका हुन् । उनीहरु कानुन बनाउँछन् । कानुन कार्यान्वयनका लागि सरकारलाई बाध्य बनाउँछन् । जनतका प्रतिनिधिका रुपमा संसदमा विधायिकाको रुपमा प्रवेश गर्छन्, सोहीअनुसार भूमिका निर्वाह गर्छन्, यो सिद्धान्तत् जनताले अपेक्षा गर्छन् । विभिन्न क्षेत्रमा भएको बेथितिकाबारेमा सरकारको ध्यानाकर्षण गराउने काम पनि सांसदहरुकै हो । हालै सरकारले सरकारी कर्मचारीको भत्ता कटौती गर्ने गरी ल्याएको बजेटलाई टेबुल ठोकेर स्वागत गर्दै पारित गरेका संघीय सांसदहरुले चढ्दै नचढेको गाडीको यातायात भत्ता वापत लाखौं रुपैयाँ बुझेका छन् । सरकारले गत चैत ११ गतेदेखि लकडाउनसँगै सम्पूर्ण सार्वजनिक सवारी साधन सञ्चालन ठप्प छ । ट्याक्सीसमेत चलेका छैनन् ।वैशाख २६ गतेदेखि संसदको अधिवेशन सुरु भएपछि संसद् सचिवालयले सांसदहरुका लागि गाडी व्यवस्था गरेको थियो । तर, सांसदहरुले भने सवारी भत्तावापत लाखौं रुपैयाँ लिएका छन् । सांसदहरुले बैठकमा सहभागी भएबापत एक हजार र यातायात भत्ताबापत एक हजार रुपैयाँका दरले भत्ता पाउँछन् । उनीहरुले सचिवालयले उपलब्ध गराएको सवारी चढेर संसद बैठकमा सहभागी भए पनि सवारी भत्ता भने लिएका छन् ।केही सांसदहरु आफ्नै गाडीमा र गाडी नहुने सांसदहरु अरुको गाडी चढेर पनि आउजाउ गरे । चैत, वैशाख र यसअघि संसद बैठक तथा संसदीय समितिको बैठकमा सहभागी भएवापत बैठक र यातायात भत्तावापत सांसदहरुलाई करिब ५० लाख रुपैयाँ दिइएको संघीय संसद सचिवालयले जनाएको छ ।चैत र वैशाखको मात्रै करिब १५ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

चैत र वैशाखमा जम्मा आठ दिन चलेको राष्ट्रिय सभा बैठकवापत  सांसदलाई ४ लाख रुपैयाँभन्दा बढी यातायात भत्ता दिइएको छ । वैशाखमा ५ दिन चलेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदलाई यातायात भत्ता करिब ११ लाख रुपैयाँ दिइएको छ । यो रकम बैंक मार्फत भुक्तानी गरिएको सचिवालयले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation