प्रचण्ड-माधव समूह ओलीविरुद्ध ललितपुरको होटलमा रणनीति बनाउँदै

असार १७, २०७७

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको चर्को विवादबीच प्रधानमन्त्री केपी ओली इतर समूह रणनीति बनाउन जुटेको छ। ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गराउने रणनीतिसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गुट बैठक ललितपुरमा भइरहेको छ। भोलि बस्‍ने बैठकको रणनीति तय गर्न अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूह गुटगत छलफलमा जुटेका हुन्। उनीहरुले भोलिको बैठकको रणनीति तय गर्ने भएका छन्। पार्टीभित्र तीव्र विवाद भएपछि दाहाल-नेपाल समूह पछिल्लो समय नजिकिएर ओलीविरुद्ध मोर्चाबन्दी गरेका छन्।  जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीको एक अभिव्यक्तिलाई लिएर दाहाल-नेपाल समूह आक्रोशित भएका छन्। प्रधानमन्त्रीले आफूलाई सरकारबाट फ्याँक्न दिल्लीसहित नेकपाभित्रै षड्यन्त्र गरिरहेको बताएका थिए। त्यसपछि उनीसँग दाहाल-नेपाल समूहले दुवै पदबाट राजीनामा माग गरिरहेका छन्। त्यही बिषयमा थप छलफल गर्न ललितपुरको एक होटलका दुई गुट संवादमा जुटेका हुन्।  छलफलमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरु सहभागी भएका छन्।  बुधबार एक घण्टा बसेर स्थायी कमिटी बैठक स्थगितपछि थप रणनीति तयार गर्न उनीहरु भेला भएको अध्यक्ष दाहालनिकट स्रोतले बतायो। प्रधानमन्त्री ओलीले बुधबारको बैठक बस्‍नुअघि आफूनिकट नेताहरुसँग बालुवाटारमै छलफल गरेका थिए।

थाहा खबर साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation