डा. केसी काठमाडौं फर्किएर सत्याग्रहमा बस्ने

जुम्लामा सत्याग्रहमा रहेका डा. गोविन्द केसीले त्यहाँबाट फर्किएर काठमाडौंमै सत्याग्रह सुरु गर्ने बताएका छन् ।

उनले दुईवर्ष अघि सत्याग्रहमा रहेका बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले जसरी आतंक  फैलाउँदै हिंसा र तोडफोड गरेको थियो त्यस्तै अवस्था फेरि आउन सक्ने भन्दै उनी काठमाडौं फर्किएर सत्याग्रह थाल्ने बताएका हुन् । उनले विज्ञप्ति जारी गरेको यस्तो जानकारी गराएका छन् । 
यस्तो छ डा. केसीले जारी गरेको विज्ञप्ति
प्रेस विज्ञप्ति
 स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि हामी १९औं सत्याग्रह गरेको आज आठौं दिन पुगिसकेको छ । तर यसबीच हाम्रा मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल गरेको छैन । बरु उल्टै रातारात अपहरण शैलीमा हामीलाई सत्याग्रह स्थलबाट जबर्जस्ती अस्पतालमा सारिएको छ ।
दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्‍यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं । यसबीच जुम्लामा रहेर हाम्रो सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई धन्यवाद प्रकट गर्न चाहन्छौं । साथै हामीले राखेका सबै मागहरु पूरा गराएर मात्रै यो सत्याग्रह टुंगिने जानकारी पनि गराउन चाहन्छौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation