आईपीएलमा आज हैदरावादको टाउको दुखाई : दिल्लीका मध्यक्रमका खेलाडी

आईपीएल सुरु हुन भन्दा अघि नै सनराइजर्स हैदरावादका लागि उसको फितलो मिडल अर्डर टाउको दुखाइ बन्न सक्छ भनेर विश्लेषणहरु आएका थिए। सुरुवाती दुई खेलमा पराजय र अझै जितको खाता खोल्ने प्रतीक्षामा रहेको हैदरावादको हालको अवस्थाले उक्त विश्लेषणलाई सही सावित पनि गरिरहेको छ।
आज हैदरावादको खेल दिल्ली क्यापिटल्ससँग खेल्दैछ। दिल्ली आईपीएलको सन्तुलित बलिङ अट्याक भएको टिमहरु मध्येमा पर्छ। पहिलो रोजाइका बलर इशान्त शर्मा र रविचन्द्र अश्विनको अनुपस्थितिमा नै अघिल्लो खेलमा दिल्लीले चेन्नईलाई हराएको थियो। कागिसो रबाडा ब्याट्सम्यानका लागि टाउको दुखाइ बन्ने छन् नै। त्यस्तै पृथ्वी श, शिखर धवन, श्रेयस ऐय्यर र ऋषभ पन्तले पनि पछिल्ला दुई खेलमा राम्रो प्रदर्शन गरिरहेका छन्। अघिल्ला दुई खेलमा अन्तिम ११ मा नपरेका सन्दीप लामिछानेको आजको खेलमा पनि पर्ने सम्भावना देखिएको छैन। भारतीय मिडियाहरुले पनि अनुमानित प्लेइङ ११ मा सन्दीपलाई समावेश गरेका छैनन्।  
हैदरावादको अझै पनि प्लेइङ ११ को फिगर बनिसकेको छैन। डेभिड वार्नर र जोनी बेयरस्ट्रोले खेलमा ओपनिङ गर्नेछन् भने मनिष पाण्डे तेस्रो नम्बरमा आउँदा प्रियम गर्ग आफ्नो पोजिसन भन्दा अघिपछि हुन सक्छन्। कोलकातासँगको खेलमा हैदरावादले विजय शंकरको स्थानमा ऋद्धिमान सहलाई पठाएको थियो। उनले पनि ब्याटिङमा संघर्ष गर्दै ३१ बलमा ३० रन जोडेका थिए। हैदराबादले आजको खेलमा  पनि प्लेइङ ११ मा धेरै परिवर्तन गरे अनौठो भने हुने छैन।
यी टोलीबीच हेड टू हेड हेर्ने हो भने हैदराबाद ९-६ ले अघि छ। तर, अहिले अवस्था फरक छ। यो सिजनमा फर्ममा देखिएको दिल्लीले खेलेका दुई खेलमा दुवैमा जित निकालेको छ भने हैदरावादले दुवैमा हार ब्यहोरेको छ। दिल्ली अंक तालिकाको शीर्ष स्थानमा छ भने हैदराबाद पुछारमा छ।
खेल आज साँझ पौने ८ बजे शेख जायेद स्टेडियममा हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation