स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिएको बडा दशैँमा भीडभाडमा गएर किनमेल नगर्न र पिङ नहाल्न आग्रह गरेको छ ।
कोरोनाको संक्रमण दर तिव्र रुपमा बढीरहेको भन्दै मन्त्रालयले यसपाली दशैँमा पुरानै कपडा लगाएर मनाउन, गाउँघरमा चौतारा वा शहरी क्षेत्रमा खुल्ला चौर/कुनै सार्वजनिक स्थानमा हालिने पिङमा मानिसहरु झुम्मिँदा कोरोना संक्रमणको खतरा बढ्ने औँल्याउँदै पिङ हाल्दा भिडभाड हुनसक्ने र कोरोना संक्रमण फैलनसक्ने भएको कारण यसपटकको दशैँमा पिङ नहाल्नको लागि मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अनुरोध गरेका हुन् ।
पछिल्लो एक सातायता काठमाडौं उपत्यकामा कुल संक्रमितको आधाभन्दा बढी संक्रमित थपिईरहेका छन् । यसअर्थ उनले अझै स्थिती भयावह हुनसक्ने भन्दे भीडभाडमा गएर सपिङ नगरी भएकै लुगा कपडा र सरसमानको उपयोग गर्न, घरमै बनाएको खाने कुरा घरकै सदस्य मिलेर मात्रै खान, अनावश्यक घुमघाममा ननिस्कनको लागि अनुरोध गरेका हुन् । उनले थपे, “कोरोना संक्रमण फैलिने डर बढेको छ । यस वर्षको दशैँमा बुढापाकासँग गएर टीका नलगाउनू । कोरोना कोसेली लिएर परिवारमा नराम्रा समाचार सुन्नुभन्दा बेलैमा सचेत होऔँ ।”
कोरोना भाइरसले बृद्धवृद्धा, औषधी सेवन गरिरहेकाहरु, दिर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई तुलनात्मक रुपमा छिटो संक्रमित बनाउने र असर देखाई ज्यानै लिन सक्ने खतरा रहेको उल्लेख गर्दै बुढापाकासँग गएर टीका लगाएर आर्शिवाद नलिन, अन्यत्रबाट गएर भलाकुसारी नगर्न प्रवक्ता गौतमले आग्रह गरेका हुन्। उनले भने ‘बरु अनलाइन वा फोनबाट आर्शिवाद लिउँ।’