स्याङ्जामा जिप दुर्घटना हुँदा १ जनाको निधन भएको छ भने ४ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार भीरकोट नगरपालिका ५ मा जिप दुर्घटना हुँदा १ जनाको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको हो भने ४ जना घाइतेको उपचार भइरहेको छ ।भीरकोट नगरपालिकाको बयरघारी फाँटदेखि पकान, धान र पराल बोकेर जाँदै गरेको महेन्द्र कम्पनीको लु २ च २६९६ नम्बरको जिप आईतबार(आज) बिहान नगरपालिका – ५ स्थित हर्खौदीमा जिप अनियंत्रित भई दुर्घटना भएको हो । मृतक सोही ठाउँका १७ बर्षीय असीम सेन रहेको प्रहरीले जनाएको छ ।भीरकोट ५ का बर्ष ३५ का शिब सेन, बर्ष ३९ का मनोज सेन, बर्ष ५२ का दिलबहादुर सेन र बर्ष २२ को अञ्जन सेनको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप कच्ची सडकबाट करिब ३० मिटर तल खसेर ५ जना घाइते भएका थिए । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्वास्थ्य उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले बताए ।