सन्धिखर्क नगरपालिकाको सेवा एक साता बन्द

अर्घाखाँची ।

सन्धिखर्क नगरपालिका नगरप्रमुख कमलप्रसाद भुसाल र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाको सेवा एक साता बन्द गरिएको छ। नगरप्रमुख र कर्मचारीमा कोरोना पुष्टि भएपछि संक्रमण फैलिन नदिन मंगलबारदेखि माघ १२ गते सोमबारसम्म कार्यालयको कामकाज बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत युगलनारायण बसेलले जानकारी दिएका छन्।

नगरप्रमुख भुसालको केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय निरिक्षक गणेशराज पौडेलले जानकारी दिए। उनको स्वाबको नमुना एक साताअघि पिसिआर जाँचका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाइएको थियो। भुसालको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

अर्घाखाँचीमा अहिलेसम्म कोरोना सक्रमितको संख्या ८४६ पुगेको छ। जसमध्ये ८०४ जना निको भैसकेका छन्। सक्रिय सक्रमितको संख्या ३० जना छ। कोरोना संक्रमणबाट अहिलेसम्म १२ जनाको मृत्यु भैसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation