अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताएका छन् ।एक भिडियो सम्बोधनमा ट्रम्पले भनेका छन्, ‘म बुधबार ९आज० नयाँ प्रशासनलाई सत्ता सुम्पिदै छु । तपाईंहरुले बुझ्नुहोस्, हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ ।’ट्रम्प चार वर्षे कार्यकाल पूरा गरी आज ह्वाइटहाउसबाट विदा हुँदैछन् । अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडनले आजै सपथ ग्रहण गर्दैछन् ।
ट्रम्पले नयाँ प्रशासन अमेरिकालाई सुरक्षित र सम्पन्न बनाउन सफल होस् भन्ने कामनासमेत गरेका छन् । उनले भनेका छन्, ‘हामी सधैं संसारको निम्ति आशा र गौरवको भूमि हौं र हुनुपर्छ ।’ उनले आफू जे गर्न आएको थिएँ, त्यो गरेको पनि बताए ।छोटो सम्बोधनका क्रममा उनले आफ्नो चार वर्षे कार्यकालका उपलब्धीबारे पनि संक्षिप्तमा चर्चा गरेका छन् । ट्रम्पले अमेरिकामा सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने मान्यता स्थापित गरेको दाबीसमेत गरे ।सहयोगी राष्ट्रहरुलाई अभूतपूर्व ढंगले चीनको सामना गर्न सहयोग गरेको, बलियो कूटनीतिका कारण मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झौता गरेको र कुनै नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाएको भन्दै उनले ट्रम्पले यसमा आफूलाई गौरव महसुस भएको पनि बताए । हिंसालाई अमेरिकाले कहिले पनि नसहने पनि ट्रम्पले बताए ।