काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत्को आन्तरिक उत्पादन बढेसँगै औद्योगिक क्षेत्रको विद्युत् महसुल घटाउने बताएकी छन् ।
नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँगको भेटमा बिहीबार मन्त्री भुसालले विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीमा सुधार गरेर अगाडि बढ्ने आफ्नो योजना रहेको धारणा राखिन् । ‘यो क्षेत्रका हरेक समस्या समाधानका लागि आवश्यक नीतिगत सहजीकरण गर्नेछौं,’ उनले भनिन् ।
डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुलसम्बन्धी विवाद मन्त्रालयले मात्र समाधान गर्न नसक्ने उनले प्रस्ट्याइन् । भेटमा परिसंघले ‘एक घर एक विद्युतीय चुलो’ परिकल्पनालाई नमुनाका रूपमा पोखराबाट सुरुवात गरी सातै प्रदेशका एकएक सहरमा विस्तार गर्न सुझाएको छ ।
साथै परिसंघले एक प्रदेशमा एउटा सय मेगावाटभन्दा ठूला जलाशयुक्त वा अर्ध जालशययुक्त जलविद्युत् आयोजना अघि बढाउनुपर्नेमा समेत जोड दिएको छ । परिसंघले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी उद्योग व्यवसायमा कार्यरत कर्मचारीहरुलाई प्राथमिकतामा राखी कोभिडविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको छ ।