कन्याम चिया कमानको विषादी घर अनिश्चित कालका लागि सिल

२०७८ श्रावण २५,इलाम — मानव स्वास्थ्यमा हानिकारक विषादी प्रयोग बढेपछि कन्याम चिया कमानको विषादी घर शनिबार अनिश्चित कालका लागि सिल गरिएको छ ।

मापदण्डविपरीत विषादी प्रयोग भएको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र सूर्योदय नगरपालिकाले उक्त घर सिल गरेका हुन् । बगान अनुगमन गर्दा कडा प्रकारको विषादी प्रयोग गरेको पाइएको थियो ।

क्लोरो फाइन फस, साइपर मेथिनलगायतका विषादी मात्रा नमिलाई मापदण्डविपरीत प्रयोग गरेको पाइए पछि सिल गरिएको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले जानकारी दिए । कमानले बोर्डबाट अनुमति लिएर मात्र चियामा विषादी प्रयोग गर्न पाउँछ । ‘हानिकारक विषादी नियन्त्रणका लागि बोर्डले विभिन्न कार्यक्रम गर्दै आए पनि सिल गरेको पहिलो पटक हो,’ भट्टराईले भने, ‘विषादी प्रयोग गर्दा मानवीय स्वास्थ्यमा असर पर्ने भएकाले बेलैमा सचेतता अपनाउन दबाब दिन यो कार्य आवश्यक थियो ।’ अनुसन्धानपछि मापदण्डले भ्याएसम्मका विषादीको प्रयोग खुला गरिने उनको भनाइ छ ।

नेपाल चिया विकास निगमअन्तर्गत रहेको कन्यामसहित इलाम र झापाका ७ वटा चिया बगान र कारखाना ५० वर्षका लागि त्रिवेणी संघाई ग्रुपलाई २०५७ सालमा लिजमा दिइएको हो । टी बोर्ड, नगरपालिका, सुरक्षाकर्मीलगायतको टोलीले विषादी घर सिल गरेको र तीन दिनभित्र बगान व्यवस्थापन पक्षलाई सूर्योदय नगरपालिकामा छलफलमा आउन भनिएको नगरपालिकाले जनाएको छ ।

अनुगमनका क्रममा चिया बगानमा विषादी प्रयोग गर्ने मजदुरले मास्क, पन्जा, एप्रोन जस्ता अत्यावश्यक स्वास्थ्य सामग्री पनि प्रयोग नगरेको पाइएको थियो । मापदण्ड पालना गर्दा श्रमिक पनि विषादीका कारण जोखिममा देखिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको फिक्कलस्थित आयोजना केन्द्रले जनाएको छ । उत्पादन बढाउन अनि कीरा र झार मार्न विषादीको प्रयोग निजी बगानमा पनि हुने गरेको पाइएको छ । हानिकारक विषादी प्रयोग गरिएको बगानमा २१ देखि २८ दिनसम्म चियामा यसको असर कायम रहने गरेको विज्ञहरू बताउँछन् । तर बगान पक्षले दुई साताभित्रमै चिया टिप्ने गरेको पाइएको छ ।
साभारःकान्तिपुर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation