ठाकुर पक्षले तत्काल छुट्टै पार्टी नबनाउने
श्रावण २६, २०७८
काठमाडौँ — जनता समाजवादी पार्टी जसपा० को अध्यक्षबाट महन्थ ठाकुर वैधानिक रूपमै हटाइएका छन् । विधानमा दुई अध्यक्षीय प्रणाली भए पनि अर्को मनोनयन नहुँदासम्म पार्टीको नेतृत्वमा अब उपेन्द्र यादव मात्रै रहने छन् । नेता बाबुराम भट्टराई संघीय परिषद्कै अध्यक्षमा कायम छन् ।
महन्थ ठाकुर, अध्यक्ष, जनता समाजवादी पार्टी
यादव पक्षको केन्द्रीय कार्यकारणी समितिको १२ गतेको निर्णयलाई सोमबार निर्वाचन आयोगले मान्यता प्रदान गरेपछि ठाकुरसहित उनको पक्षमा रहेका केन्द्रीय कार्यकारणी समितिका १६ जना सदस्यकै पार्टीगत हैसियत गुमेको हो । अध्यक्ष ठाकुरसहित हटाइएका सबै केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हैसियत अब पार्टीको साधारण सदस्यतामा सीमित भएको छ ।

आयोगले साउन ११ मा पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि भोलिपल्टै बसेको केन्द्रीय कार्यकारणी समितिको बैठकले ठाकुरसहित १६ जनालाई पार्टीको जिम्मेबारीबाट हटाउने निर्णय गरेको थियो । पार्टीको त्यही निर्णयलाई अद्यावधिक गराउन यादव पक्षले बिहीबार निर्वाचन आयोगमा निवेदन दिएको थियो । आयोगले सोमबार अद्यावधि गराउने निर्णय गरेको हो ।
तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टीबीच ०७७ वैशाख १० मा एकीकरण भएको थियो । त्यसको प्रक्रिया पूरा नहुँदै पार्टीमा चरम विवाद बढेर आधिकारिकता खोजिएपछि आयोगले जसपा दर्ता गर्दा कायम रहेको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमध्ये ३४ सदस्य रहेको यादव पक्षलाई मान्यता दिने निर्णय सुनाएको थियो ।
यादव पक्षलाई पार्टीको आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध ठाकुर पक्ष अदालतमा गएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा आफूहरूको पदीय हैसियत गुमेपछि ठाकुरसहितका नेताहरू आयोगको भूमिकालाई लिएर प्रश्न उठाएका छन् । नेता शरतसिंह भण्डारीले आयोगले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिने, अर्कोतिर ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति भएको भनेर अद्यावधि गराउने निर्णय विरोधाभाष भएको बताए । ‘यसका विरुद्धमा पनि हामी अदालत जान्छौं,’ उनले भने ।