नेकपा एमालेको माधव नेपाल पक्षले अब एकताको सम्भावना अन्त्य भएको निष्कर्ष निकालेको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट विधान संशोधनसहित संगठनात्मक गतिविधि अघि बढाएपछि उनले एकता नचाहेको प्रष्ट भएको नेपाल पक्षको दावी छ ।
नेपालनिकट पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडाले ओलीकै कारण अब एकताको अध्याय समाप्त भएको बताए । उनले कम्युनिष्ट पार्टीको पुनर्गठन गर्दै अब नयाँ ढंगबाट अघि बढ्नुपर्ने बाध्यता माधव नेपालमाथि आइपरेको बताए ।
नेपालनिकट नेता खतिवडाले पार्टीमा सम्मानजनक एकता र सबै कार्यकर्ताको सुरक्षाका लागि समान हैसियतसहितको अध्यक्ष माधव नेपाललाई बनाउने सहमति ओलीले नमानेपछि अब नयाँ कम्युनिष्ट पार्टी गठनको विकल्प नरहेको बताए ।
उनले समान हस्ताक्षरसहितको अध्यक्ष बनाउने प्रस्ताव लिएर जाने विष्णु पौडेल, सुवास नेम्वाङ, भीम रावल र सुरेन्द्र पाण्डेले अब माधव नेपाललाई धोका दिए राजनीतिक बेइमान ठहरिने चेतावनी दिए । उनले अन्ततः बिष्णु पाैडेल र सुवास नेम्वाङले पनि ओलीलाई साथ नदिने दावी गरे ।
माधव समुहका पाेलिटब्युराे सदस्य खतिवडा यस्तो भन्छन्
एमाले एकताको लागि पहिलो कुरा सबैभन्दा महत्वपूर्ण हतियार भनेको संयुक्त हस्ताक्षरले समान बिजयको भाव देखाउँथ्यो । दोस्रो कार्यकर्तालाई भेदभावको नियन्त्रण गर्नेलाई हतियारको काम गर्थ्यो । तेस्रो साझा सहमतिमा काम गर्न र सहमतिको निर्णयमात्र गर्न बाध्य पार्थ्यो । महाधिवेशनसम्म सहमतिको निर्णय गर्दा हाम्रो दूरी पनि घट्दै जान्थ्यो । त्यो कुराको लागि हामीले संयुक्त हस्ताक्षर भनेको हो । तर, केपी ओलीले यो कुरा मान्नु भएन भनेपछि कुरा सकियो ।
अब दुइटा चुनौती छन् । अब वार्ता कार्यदलका खासगरी चारजना नेताहरूमाथि चुनौती छ । उताबाट विष्णु पौडेल र सुवास नेम्वाङ, यताबाट भीम रावल र सुरेन्द्र पाण्डे ।
यी चारजनाले माधव नेपाललाई पूर्ण विश्वस्त गराएका थिए । संयुक्त हस्ताक्षर पनि प्रमाणीकरण हुन्छ, तपाईंलाई समान हैसियतको अध्यक्ष पनि बनाइन्छ भनेर ढुक्क बनाएका थिए । हामीले पनि यो बटमलाइन बनाएका थियौं । त्यो आधारभूमि बटमलाइन थियो ।
तर, अब विष्णु पौडेल, सुवास नेम्वाङ, भीम रावल र सुरेन्द्र पाण्डेलाई ठूलो नैतिक संकट छ । यदि उहाँहरूसँग साँच्चिकै राजनीतिक नैतिकता छ भने माधव नेपालको साथ छाड्नु हुँदैन । किनकी समान हैसियतको अध्यक्षको प्रस्ताव यी चार नेताहरूको थियो, माधव नेपालको प्रस्ताव होइन ।
माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव सुवास र विष्णुको हो । केपी ओलीले सहमति र स्वीकृति दिएको कुरा हो । कहिले झलनाथ, कहिले वामदेव भन्नुभयो माधव नेपालले, तर आफू हुनुपर्छ भन्नुभएन । यस हिसाबले यी चार नेताले माधव नेपाललाई छाडे भने राजनीतिक बेइमानको रूपमा दर्ज हुनेछन् ।
अर्को कुरा केपी ओलीले सबै ढोका बन्द गर्नुभयो । हाम्रो वार्ता कार्यदल यो भन्दा निराश हुने ठाउँ छैन । कि त वार्ताकार नेताहरू भूलभलैयामा थिए, केपी ओलीले एक-एकवटा मायाजाल बिछ्याएका थिए । केपी ओलीले जाल निकालेपछि कक्रक्क भए । सबै भ्रमबाट मुक्त भए, केपी ओली एकता चाहँदैनन् ।
केपी ओली सय प्रतिशत उनका समर्थक बनाउन चाहन्छन् । उनको बटमलाइन आफ्नोमात्र चल्ने पार्टी बनाउने हो । हाम्रो एकताको आधार संयुक्त हस्ताक्षरसहितको एकता हो । अब अगाडि कसरी अगाडि बढ्ने भन्ने हो ।
केपी ओलीले कस्तो पार्टी बनाउन चाहन्छन् भन्ने उनको विधान हेरेपछि देखिन्छ । आफूलाई सधैंभरि स्तुती गान गाइरहने,आफूले जतिबेला पनि पजनी गर्न पाइरहने,कसैले आलोचना गर्न नपाइने पार्टी बनाउन चाहान्छन् भन्ने देखिन्छ । हिजो पार्टीको लोकतान्त्रीकरण भन्ने ओली अब तानाशाही तरिकाले पार्टी चाहन्छन् ।
अब केपी ओली यस हिसाबले राष्ट्रपतीय शासन प्रणालीमा जान बाध्य हुन्छन् । पार्टीमा एकल नेतृत्व हो भने त्यही मोडलको प्रत्यक्ष निर्वाचिन राष्ट्रपतीय प्रणालीमा जान बाध्य हुन्छन् ।
ओलीले जो-जो आउँछन् समेट्ने, नआउनेलाई घर-घरमा लिन गइदैन भनेछन् । पहिलो कुरा उनको विषालु चकलेट खाइँदैन । हामी मान्यताको राजनीति गर्छौं भनेर लागेका छौं । जाने कोही छ भने व्यक्तिको स्वतन्त्रताको कुरा हो । कसैलाई रोकिँदैन ।
केपी ओलीका मान्छेहरू पनि हामीसँग आउन सक्छन्, हाम्रो मूल्य मान्यता मन परेपछि । तर, अब पार्टी पुनर्गठनको गर्नुको विकल्प हामीसँग छैन । विचारमा, राजनीतिमा र संगठनमा तीनै ठाउँमा पुनर्गठन गरेर नयाँ धारको नयाँ ढाँचाको, बढी जनतालाई केन्द्रविन्दु बनाएको नयाँ कम्युनिष्ट पार्टी आजको मुलुकको आवश्यकता हो । हामी त्यो दिशामा जानुपर्छ भन्ने निष्कर्ष हो ।