आज नागपञ्चमी भक्तजनहरु द्वारा पुजा आराधना

उज्यालो पोस्ट बुटवल,आज शुक्रबार हिन्दु धर्मावलम्बीहरुले नाग देवतालाई दूध धार दिनुको साथै घरघरमा नागको तस्बिर वा मुर्ती स्थापना गरि मनाईरहेका छन। नागपञ्चमी हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ, नाग पञ्चमीमा नाग देवताका निमित्त ब्रत लिने गरिन्छ । यस ब्रतमा पुरै दिन व्रत बसेर सूर्यास्तपछि नाग देवताको पूजाका लागि खिर प्रसाद पकाई, त्यसलाई सर्वप्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी ९ भोग लगाई प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले ग्रहण गरिन्छ ।साथै गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नाग दियो, कलश, गणेशको पुजा गरी दही, दुबो, कुश, फुल, सिन्दुर, चन्दन आदिले पुजा गरी, धुप दीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले कालसर्प आदि गरिएको योग पनि नष्ट हुने कथन छ ।

आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरु हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिँदैन ।

‘नाग, चट्याङ र अग्नीको भय नहोस्’ भन्ने कामनासहित टाँसिने नागको चित्र ढोकामा टास्ने गरिन्छ।

नागका पौराणिक कथा
भविष्योत्तर पुराणअनुसार कुनै समय एक किसानको घरमा दुई छोरा र एउटी छोरी थिए । एकदिन किसानले खेत खनजोत गर्दा नागका तीन बच्चा मरेपछि नागदेवता रिसाई किसानसहित परिवारलाई नै डस्यो । तर, उसको छोरी छिमेकीको घरमा भएकीले बाँची र भोलिपल्ट छोरीलाई पनि डस्न जाँदा किसानको छोरीले नागदेवताको पूजा गरी दूध चढाइन् ।

यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित परिवारलाई बचाइदिएकाले यसै दिनदेखि नागपञ्चमी पर्व मनाउन थालिएको किम्बदन्ती छ । जन्मेजयको नाग यज्ञसँग जोडिएको प्रसंग पनि धर्मशास्त्रमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation