एमाले विभाजित चुनाव चिह्न खुला किताब:फुट्यो माधव समूह

उज्यालो पोष्ट,संवाददाता — केशव विश्वकर्मा

उज्यालो पोष्ट ,काठमाडौँ — नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले समाजवादी दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।

पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीले जानकारी दिए ।निर्वाचन आयोगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,उनले भने ।

फुट्यो माधव समूह

एमालेका वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेका छन् । तर लामो समयदेखि उनलाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु नयाँ दल एमाले समाजवादीमा नजाने भएका छन् ।

नेता नेपालले नयाँ दल दर्ता गर्न खोजेपछि उपाध्यक्ष ज्ञवालीले स्थायी कमिटीको बैठक राखेर को कता लाग्ने भनेर छलफल गर्न प्रस्ताव गरेका थिए । तर नेता नेपाल त्यसमा पनि सहमत भएनन् र नयाँ अध्यादेशअनुसार केन्द्रीय कमिटीको २० प्रतिशत संख्या पुर्‍याएर दल दर्ता गर्न अघि बढेका छन् ।

तर उनलाई एमाले पदाधिकारी र स्थायी कमिटीको ठूलो हिस्साले साथ नदिने भएको छ ।

स्रोतका अनुसार तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् । उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् ।

स्थायी कमिटी सदस्यद्वय वेदुराम भुसाल र मुकुन्द न्यौपाने भने नेता नेपालसँगै नयाँ दलमा हुनेछन् ।

केन्द्रीय कमिटीको पनि ठूलो हिस्सा एमाले समाजवादीमा नजाने यो समूहका नेताहरुको दाबी छ । यद्यपि यो समूह तत्काल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा पनि जाने सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।

अध्यादेश ल्याउन लगाएर माधवकुमार नेपालले र नेताहरुलाई कारबाही गरेर अध्यक्ष ओलीले पार्टी फुटाउन खोजेको भन्दै उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्, ‘व्यक्तिले गरेको गल्तीको सजाय पार्टीलाई दिन सकिन्न । हामी एकताकै पक्षमा छौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation