भाद्र २, २०७८ केशव विश्वकर्मा

मकवानपुर — एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । बुधबार उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् ।
संविधानको धारा १६८ (१)अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । उक्त धारामा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने उल्लेख छ ।
शाक्य बुधबार नै वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी थिइन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एमाले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै पदबाट राजीनामा दिएका थिए । पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिए को थियो ।एमाले विभाजन भएसँगै बागमती प्रदेशमा विभाजनको असर कम गर्ने उद्देश्यले एमालेले सरकारको नेतृत्व परिवर्तन गरेको हो ।
बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन् । उनले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् । पाण्डेलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
प्रदेश सरकारका सात मन्त्रालयमध्ये बाँकी चार मन्त्रालय भने मुख्यमन्त्री शाक्यले तत्काल आफ्नै जिम्मेवारीमा राखेकी छन् ।