उज्यालो पोष्ट, सोलुखुम्बु — झूटो विवरण पेस गरेर जिल्ला बाहिरका व्यक्तिलाई नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोताङ–४ का वडाध्यक्ष रामकुमार राई र वडा सचिव प्रभात राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । अरू पाँच जना यसअघि नै पक्राउ परेका थिए ।
२०४८ मा सिन्धुलीमा जन्मेका सरोज तामाङले सोताङ ४ वडा कार्यालयमा जन्म दर्ता गराई स्थानीय शुक्र तामाङलाई दाइ भनेर सनाखत गराएको पाइएको छ । त्यसरी झूटो विवरण पेस गरी नागरिकता लिएको खुलेपछि सम्लग्न सबैलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
झूटो विवरण देखाएर नागरिकता लिएको उजुरीका आधारमा नागरिकता लिने सरोज तामाङ र दिलाउन दाइको भूमिका निर्वाह गर्ने शुक्र तामाङ, नागरिकता साक्षी बस्ने सोताङ–४ का सुदीप राई, टीकाराम राई र सूर्यबहादुर राईलाई यसअघि नै पक्राउ गरि १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
वडाको सिफारिसमा साउन २४ मा जिल्ला प्रशासन कार्यालय सल्लेरीबाट ११–०१–७८००३५५ नम्बरको नागरिकता जारी गरिएको थियो । साउन २० मा सोताङ–४ मा जन्म दर्ता गराइएको खुलेको छ ।