जनमतसङ्ग्रहका लागि तयार हुन महासचिव विप्लवको आह्वान

‘व्यवस्था परिवर्तनका विषयमा खुला बहस गरौँ’

उज्यालो पोष्ट,२०७८ भदौ १६ बुधबार

चितवन – नेपाल कम्युनिस्ट पार्टी चितवनले आयोजना गरेको सहिद परिवार भेटघाट कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले नेपालका सबै राजनीतिक दलले आफ्नो अन्तिम लक्ष्य समाजवाद भने पनि समाजवाद प्राप्तिका लागि बहस र छलफल गर्नसमेत तयार नभएको भन्दै जनताको आँखामा छारो हाल्ने र भ्रम उत्पन्न गर्ने काम बन्द गर्न आग्रह गरे । उनले संसदीय व्यवस्थाको उच्चतम् विकल्प वैज्ञानिक समाजवादका विषयमा बहस तथा जनमतसङ्ग्रहका लागि तयार रहन अपिल गरे । । उनले संसदीय व्यवस्थाको उच्चतम् विकल्प वैज्ञानिक समाजवादका विषयमा बहस तथा जनमतसङ्ग्रहका लागि तयार रहन अपिल गरे ।

उनले संसदीय व्यवस्थामा नेता र पार्टी चुन्ने चुनाव बारम्बार भएको तर त्यसले देशको उचित राजनीतिक निकास दिनुको उल्टो देश झन् राजनीतिक अस्थिरतामा फस्नुका साथै विस्तारवाद र साम्राज्यवादको क्रीडास्थल बन्न पुगेको बताए । अब नेता र पार्टी चुन्ने चुनाव नभई व्यवस्था छान्ने जनमतसङ्ग्रह हुनुपर्ने र जनताले आफूले खोजेको जस्तो व्यवस्था आफैँ छान्न पाउनुपर्ने महासचिव विप्लवको भनाइ थियो ।

कार्यक्रममा सम्बोधनका क्रममा महासचिव विप्लवले केपी ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउनु गलत भएको बताएका छ्न् । उनले सर्वोच्च अदालतले समेत दोषी ठहर गरेको एनसेललाई कारबाही गर्दा, नेपाली युवकयुवतीलाई विदेशमा पुर्याएर अलपत्र पार्ने, चेली बेचविखन गर्ने मानवतस्करलाई कारबाही गर्दा, ललिता निवासको सरकारी जमिन बेचबिखन गर्नेलाई कारबाही गर्दा र भ्रष्टाचारीलाई जनताको चाहनाअनुसार जनकारबाही गर्दा प्रतिबन्ध लगाउनु सरकारको गल्ती भएको पनि प्रस्ट पारे । उनले क्रान्तिमा लागेर नेता–कार्यकर्ता मारिनसक्ने, गिरफ्तार पर्नसक्ने तर क्रान्ति र विचार कहिल्यै पनि नसकिने, नमर्ने पनि बताए । उनले भने, ‘सरकारले हामीलाई प्रतिबन्ध लगाएर १र२ महिनामा सक्छौँ भन्ने घमण्ड देखायो । क्रान्तिमा लागेका नेता–कार्यकर्ता मारिन तयार भए, गिरफ्तार भए तर क्रान्ति र विचार कहिल्यै कसैले मार्न सकेनन्, सक्दैनन् ।’

आफ्नो पार्टीका सवा सय नेता–कार्यकर्ता अझै पनि जेल र हिरासतमा रहेको भन्दै महासचिव विप्लवले उनीहरूलाई तत्काल रिहा गरी भएको तीनबुँदे सहमति कार्यान्वयनमा इमानदारी देखाउन सरकारसँग आग्रह गरे । वार्ताका विषयमा बाहिर छरिएका भ्रमहरूमा विश्वास नगर्न सम्पूर्ण नेता–कार्यकर्ता र शुभचिन्तकहरूमा आग्रह गर्दै महासचिव विप्लवले पार्टी र सरकारबीच भएको तीनबुँदे सहमतिबारे प्रस्ट पारे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation