नेपाली काँग्रेस सैनामैना नगरको सभापतिमा कृष्ण प्रसाद पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन्। नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिएसँगै नगर अधिवेशनका लागि भदौ २७ गतेका लागि निर्धारित पालिका स्तरीय अधिवेशन असोज ९ गतेका लागि प्रस्ताव गरिएसँगै आफूले नगरसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सैनामैना नगरपालिकाको कलौनीमा आयोजना गरिएको उम्मेद्वारी घोषणा सभामा सभापति पोख्रेलको प्यानलमा उपसभापतिमा निलप्रसाद थापा र मिना श्रेष्ठ, सचिवमा कृष्ण कंडेल र सुवास पौडेल र सह–सचिवमा श्यामप्रसाद अधिकारी र सुरेश परियारले पनि उम्मेद्वारी घोषणा गरेका हुन् ।

सो अवसरमा सभापति पोख्रेलले पार्टीलाई एकीकृत गर्दै नगरमा काँग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए । उहाँले आफूहरुको समूह पार्टीको कुनै गुट–उपगुटको पक्षमा नभई साझा उम्मेद्वारी दिएको बताए । नेपाली काङ्ग्रेसमा रहेको तानाशाही प्रवृतिको अन्त्य तथा सर्बपक्षको सहभागी सहितको पार्टी बनाउनको लागि यो समुहको उम्मेदवारी रहेको समेत पोख्रेलको भनाई थियो ।
कार्यक्रम नेपाली काँग्रेस सैनामैना नगरमहाधिवेशन निर्वाचन समितिका संयोजक एवम् काँग्रेस जिल्ला सदस्य गोविन्द लम्सालको सभापतित्व तथा प्रजातन्त्र सेननी पर्शुराम पोख्रेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस सैनामैना नगर सभापति राम प्रसाद अधिकारी, चित्र बहादुर के.सी, काँग्रेस वडा नं. ८ को सभापतिमा महोदत्त ढकाल, नेपाल तरुण दल सैनामैना सभापति राजु चौधरी लगायतले बोल्दै काँग्रेस नेतृत्व सर्वसम्मत बनाउन सके पार्टीलाई ससक्त र बालियो बनाई आगामी दिनमा हुने तीनै तहको निर्वाचन काँग्रेसले जित्नसक्ने उल्लेख गरेका थिए ।