बुटवल असोज १५ र रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगर चढ्ने स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।
बुटवलतर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकललाई लु १ झ ३९३ नम्बरको स्कारपियोले आज बिहान सैनामैना नगपालिका–५ बुद्ध नगरमा ठक्कर दिएको थियो । उपमेयर चढ्ने गाडी कार्यालय जाने क्रममा मोटरसाइकललाई ठक्कर दिएको हो। उक्त गाडी उपमेयर चढ्ने भएपनि उपमेयर मगर भने सवार रहेकी थिइनन् ।
दुर्घटनाबाट मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२का ७० वर्षीय बालकृष्ण गौतम र उनकी श्रीमती ६० वर्षीया लक्ष्मी गौतम घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रमुख योगेन्द्रसिंह थापाले बताए । घाइते दुबैको अवस्था सामान्य र उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।