
१६ असोज । प्रेस सङ्गठन नेपाल कपिलवस्तुको जिल्ला सम्मेलन कार्तिक ६ गते हुने भएको छ । शनिवार गोरुसिगेमा बसेको जिल्ला सम्मेलन आयोजक समितिको बैठक विभिन्न निर्णय सहित मिति घोषणा गरेको हो । केन्द्रीय परिपत्र अनुसार सम्मेलनको तयारी सुरु गरिएको हो ।
बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव सरोज खनालले सहमतिको आधारमा सङ्गठनलाई बलियो बनाउन सुझाव दिनुभयो । विगत देखि नै प्रेस सङ्गठन कपिलवस्तु पत्रकारिता क्षेत्रमा अब्बल रहेको भन्दै नेतृत्व समक्ष हुनुपर्नेमा जोड दिनुभयो ।
पत्रकारितामा पदको लडाई नगरी कलमको माध्यम वाट सशक्त बन्नुपर्ने खनालले बताउनुभयो । पत्रकारहरूको क्षमता वृद्धि र सञ्चारमाध्यम बलियो बनाउन स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकारले विशेष ध्यान दिनुपर्ने जनाउनुभयो ।
प्रेस सङ्गठनका केन्द्रीय सदस्य मनिस कार्कीले प्रेस सङ्गठनको अब आउने नेतृत्व सर्वसम्मत र कुशल नेतृत्व बनाउन आफू लागि पर्ने बताउनुभयो । बैठकले अर्जुन बेल्वासेको संयोजकत्वमा चार सदस्य सदस्य नवीकरण कमिटी गठन गरेको छ ।
त्यस्तै डिलाराम भुसालको संयोजकत्वमा शिव बन्जाडे र विजय पौडेल आभास लाई निर्वाचन मण्डल चयन गरिएको छ । बैठकले सङ्गठन सर्वसम्मति बनाउन कार्यदल समेत बनाएको छ ।
वसन्त गिरीको संयोजकत्वमा चिन्ता परियार र नेत्र पाण्डे सदस्य रहने गरी कार्यदल बनाएको हो । सम्मेलन मार्फत सर्वसम्मति रूपमा चयन गर्नको लागि आजै बाट आकाक्षीहरु सँग छलफल गर्ने संयोजक गिरीले बताउनुभयो ।