श्रीराम सुगर मिल्सबाट भुक्तानी नदिएपछि उखु किसानहरुले संसदीय समिति गुहारे

रौतहटको श्रीराम सुगर मिल्सबाट भुक्तानी पाउने व्यवस्था मिलाइदिन उखु किसानहरुले संसदीय समिति गुहारेका छन् ।आज प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफूहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका हुन् । समिति सभापति बिमलप्रसाद श्रीवास्तवलाई ज्ञापन पत्र बुझाउदै संघका सचिव सफीन्द्रप्रसाद यादवले उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करिब ४ करोड रुपैयाँ नपाएको भन्दै दशैं अगाडि नै सबै भुक्तानी पाउनुपर्ने माग गर्नुभयो । उद्योग बन्द हुँदा त्यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएका हजारौं व्यक्ति समस्यामा परेकोले हजारौं घरपरिवारको आयस्रोत नै बन्द भएकाले उद्योगलाई फेरि सञ्चालन हुने वातावरण मिलाइदिनसमेत किसानको माग छ । यता, श्रीराम सुगर मिल्सले २०७७ साउन ११ गते सूचना प्रकाशन गरी उद्योग बन्द भएको जानकारी गराएको थियो । मिल्सका सञ्चालक रितेश गोल्छाले बार्षिक १५ करोडको घाटा भएकाले कम्पनी बन्द गर्नुपरेको बताउनुभयो । उहाँले मिल सञ्चालनका लागि जग्गा बेच्न स्वीकृति लिन निवेदन दिएको तर स्वीकृति प्राप्त नभएकाले मिल बन्द गरेको उल्लेख गर्नुभयो । सांसदले भने जग्गा बेचेर मिल सञ्चालन गर्ने नियत स्पष्ट नभएको बताएका छन् । समितिले यस बिषयमा सरोकारवालासंग छलफल गर्ने जनाएको छ । रौतहटको गरुडास्थित २६ वर्ष पुरानो श्रीराम सुगर मिल्स बर्सेनि घाटामा रहेको कारण देखाउँदै गोल्छा अर्गनाइजेसनले बन्द गर्ने निर्णय गरेको थियो । जसका कारण ३ सय २५ जना मजदुरको रोजगारी गुमेको छ भने किसानहरुले बर्षौदेखिको बक्तौता पाउन सकेका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation