घोराहीमा सञ्चालन भइरहेका वैकल्पिक सिकाइ कात्तिक १५ सम्म बन्द

घोराही उपमहानगरपालिकाले कोरोना सङ्क्रमणको दर बढेको भन्दै सामुदायिक र संस्थागत विद्यालयहरुमा भइरहेको सहजीकरणका क्रियाकलाप २० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको आइतबार बसेको बैठकले नगरभित्र दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै कात्तिक १५ गतेसम्मका लागि सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
घोराही उपमहानगरपालिकाले असोज १ गतेदेखि अस्थायी सिकाइ केन्द्रका रुपमा सबै विद्यालयहरुमा सिकाइ सहजीकरण क्रियाकलापहरु सञ्चालन गर्दै आएका थिए । नगरका कार्यवाहक प्रमुख भरतमणि अर्यालको अध्यक्षतामा बसेको बैठकले समुदायस्तरमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कात्तिक १५ गतेसम्म सिकाइ केन्द्रमा भइरहेको सहजीकरणका क्रियाकलाप बन्द गर्ने निर्णय भएको सदस्य सचिव एवं शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिनुभएको छ ।
त्यसैगरी कक्षा ११ को परीक्षासमेत स्थगन गर्ने बैठकले निर्णय गरेको छ । तर शिक्षा महाशाखा एवं विद्यालयहरुको दैनिक प्रशासनिक काम भने यथावत् राख्ने निर्णय भएको छ । घोराही उपमहानगरपालिकामा अहिलेसम्म पाँच सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने तीमध्ये तीन सय ९६ जना सङ्क्रमणमुक्त भएका छन् ।
प्युठानको नौबहिनी गाउँपालिकाले पनि शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीमा रहेका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation