दीपावली र छठ नजिकिए सँगै सिरहामा माटो र बाँसका विभिन्न सामग्रीको बिक्रि बढेको छ ।नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीमा माटोको दियो, डिबियासँगै गाग्री(घैला)को प्रयोग गरिन्छ । त्यसैगरी छठमा विशेषगरी गाग्री, दियो, ढकना, हात्ती जस्ता माटोले बनेका सामग्रीको प्रयोग हुँदै आएको छ । सिरहामा माटो र बाँसले बनाएका सामग्रीको हाटबजारमा विक्रि वढेको व्यवसायीहरु बताउँछन् ।
बाँसले बुनेका ढकिया, सुपा, कोनिया, डगरी जस्ता सामग्रीले छठ पर्वमा उपयोग हुँदै आएकोले विक्रि वढेको सिरहा नगरपालिका १ का व्यवसायी सुरेश मल्लिकले बताए ।सिरहा नगरपालिका ११ भलुवाहीमा माटोका सामग्री बनाउँदै आएका प्रदीप पण्डितले अरु वर्ष जस्तै यसवर्ष पनि माटोका सामग्री बनाउन भ्याईनभ्याई भएको बताए । ‘कोरोनाले ठप्प भएको माटोको सामग्रीको व्यापार दिपावली र छठले तंग्रिएको छ,’पण्डितले भने,‘गत वर्षभन्दा महँगोमा माटोका सामग्री बेच्दै आएको छु ।’
छठ पर्वमा चाहिने माटोका सामग्री (घैला, ढकना, हात्ती, दियो) ३ सयदेखि ३ सय ५० रुपैयाँमा बेच्दै आएको पण्डितले बताए । यता बाँसका ढकिया ३ सय ५०, सुपा २ सय, डगरी–कोनिया १ सय ५० रुपैयाँ बेच्दै आएको सिरहा नगरपालिका १९ का प्रमोद मल्लिकले बताए ।
जिल्लाको मुख्य बजार क्षेत्र सदरमुकाम सिरहा, मिर्चैया, लहान, गोलबजार र ग्रामीण बजारहरु कल्याणपुर, सुखिपुर, कर्जन्हा, बरियारपट्ट, भगवानपुर लगायतका बजार क्षेत्रमा माटो र बाँसका सामग्रीको बिक्रि वढेको स्थानीय व्यवसायीहरु बताउँछन् ।
माटोका सामग्री विशेषगरी कुमाल समुदाय र बाँसका सामग्री डोम समुदाय तयार पारेर दिपावली र छठमा बेच्दै आएका छन् ।