जेब्रा झोलामा गाँजा, दुई महिला पक्राउ

प्रहरीले विराटनगरबाट साढे पाँच किलो गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो प्रदेश-१ प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले दुई महिलालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की ४० वर्षीया सीता राई र साँगुरीगढी–१ की २० वर्षीया वविता राई छन् । उनीहरुको साथबाट पाँच किलो सात सय ग्राम गाँजा बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कञ्चनबारी चौकमा टेम्पोबाट झरेर पैदल हिँडिरहेको अवस्थामा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको थियो ।पक्राउ परेकाहरुले बोकेको जेब्रा झोलामा पाँचवटा पोका बनाएर राखेको अवस्थामा गाजाँ भेटिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्र कार्कीले जानकारी दिए । दुवै जनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको उनले बताए ।उनीहरुले गाँजा कहाँसम्म लिएर गएका हुन् भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation