नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेशकाजी श्रेष्ठले विकासको सम्भावना बोकेको कपिलवस्तुको कृष्णनगरमा ड्राइपोर्ट (सुख्खा बन्दरगाह) को लागि विशेष पहल गर्ने बताउनुभयो ।
चेम्बर अफ कमर्स कपिलवस्तुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै भारतको बढनी रेल वे स्टेशनसँग प्रत्यक्ष सम्बन्ध जोडिएको कपिलवस्तुको कृष्णनगर नाका व्यापारिक सम्भावना बोकेकाले यहाँ सुख्खा बन्दरगाह निर्माण गर्न आवश्यक देखिएको चेम्बर केन्द्रिय अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।
सुख्खा बन्दरगाह (ड्राइपोर्ट) निर्माणले जिल्लाको समग्र आर्थिक एवं पर्यटन विकासमा समेत ठूलो टेवा पुग्ने श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । यहाँका व्यापारी व्यवसायीको मागलाई ध्यानमा राख्दै ड्राइपोर्ट निर्माणका लागि आफूले केन्द्रिय तहसम्म आवाज उठाउने आश्वासन दिलाउनुभयो ।
मंसिर १२ गते चयन भएका पदाधिकारीहरुलाई पद हस्तानतरण गरिएको हो । निर्वाचन समितिका संयोजक शरद अधिकारीले संस्थाका अध्यक्ष महादेव पोख्रेललाई सपथ ग्रहण गराउनुभएको थियो त्यसपछि अध्यक्ष पोख्रेलले अन्य पदाधिकाहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले ब्यवसायीका हकहितका साथै समग्र सामाजिक क्षेत्रमा चेम्बर अफ कपिलवस्तुले उल्लेखनीय कार्य गरेको उल्लेख गर्नुभयो । नव निर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै प्रदेशसभा सदस्य के.सी.ले लुम्बिनी प्रदेशबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
कार्यक्रममा शिवराज नगर उपप्रमुख शिवकुमारी थारु, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान जिल्ला सभापति बिष्णुप्रसाद खतिवडा, नेपाल राष्ट्रिय बाणिज्य संघका केन्द्रीय सदस्य टोपलाल पोखरेल लगायतले चेम्बरको सामाजिक योगदानको बिषयमा चर्चा गरेका थिए ।