संसद विघटनविरुद्धको प्रदर्शन भव्य र शान्तिपूर्ण बनाउन तरुण दलको निर्देशन

काठमाडौं । नेपाल तरुण दलले माउ पार्टी नेपाली काँग्रेसले संसद विघटन विरुद्ध यही पुस १३ गते गर्ने प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई आन्दोलनमा परिचालन निर्देशन दिएका हुन् ।

‘नेपाल कम्युनिष्ट पार्टीको केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली काँग्रेस पार्टीले यही २०७७ साल पुष १३ गते सोमबार १६५ संघिय निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमितिको आयोजनामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको जानकारी गराउँदै उक्त विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन त्यस जिल्ला समितिले पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई व्यापक परिचालन गर्न–गराउन निर्देशन गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै २०७७ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भएकाले पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न जिल्ला समितिहरुलाई बस्नेतले निर्देशन दिए ।

पार्टीसँग कार्यक्रम नजुध्ने गरी विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रम गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन अध्यक्ष बस्नेतले भनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation