आज माघ १९, प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी तत्कालीन राजा ज्ञानेन्द्रले शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक ‘कू’ गरेको दिन। यस दिनलाई कालोदिनका रुपमा सम्झने गरिन्छ।उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेको र राजकीय तथा शासकीय सत्ता अब आफ्नो हातमा रहेको घोषणा गरेका थिए । यो शाही ‘कू’लाई नेपालको राजनीतिमा कालो दिनको रुपमा स्मरण गरिन्छ ।ज्ञानेन्द्र शाहले मुलुकमा जारी हिंसात्मक द्वन्द्वलाई देखाएर जनताका मौलिक अधिकार निलम्बन गरिदिएका थिए । साथै प्रमुख राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी उनले नजरबन्दमा राखेका थिए ।
ज्ञानेन्द्र शाहको यो कदमबाट बहुदलीय प्रजातन्त्रका मान्यताहरु पूर्णरुपमा समाप्त भएपछि तत्कालीन विद्रोही माओवादीसहित प्रमुख सात राजनीतिक दलहरुबीच १२ बुँदे सहमति भएअनुसार दोस्रो जनआन्दोलनको थालनी भएको थियो ।त्यसपछि २०६२ चैत २४ गते सुरु भएर २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो । यही बीचमा माओवादी शान्ति प्रक्रियामा आएको थियो । जनआन्दोलनको जगमा पुनःस्थापित संसदले मुलुकबाट राजतन्त्र समाप्त गरी गणतन्त्र घोषणा गरेको थियो ।
त्यसपछि राजा ज्ञानेन्द्र नारायणहिटी दरबार छाड्न बाध्य भएका थिए । टेलिभिजन सम्बोधनमार्फत् उनले ‘जनताको नासो जनतालाई नै फिर्ता गरिदिएको’ घोषणा गरेका थिए ।राजसंस्था फालेर लोकतान्त्रिक गणतन्त्र बहाली भएको १६ वर्ष पुगिसक्दा पनि जनचाहनाअनुसारको विकास र समृद्धि हुन नसक्दा आम नेपालीमा नैराश्य छाएको छ । वर्तमान राजनीतिक दलहरूप्रति जनताको विश्वास घट्दै गएको यो परिस्थितिमा राजसंस्थाको माग गर्नेहरु सलबलाउँदै गएका छन् ।