बृहत भेलाबाट अनेरास्ववियू र युवा संघको जिल्ला कमिटी गठन

शनिबार सिद्धार्थ क्याम्पस बुङ्चीमा भएको बृहत भेलाबाट अनेरास्ववियू र राष्ट्रिय युवा संघ जिल्ला कमिटी गठन गरिएको छ ।तत्कालिन नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) बीच पार्टी एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघ कपिलवस्तुको जिल्ला कमिटी गठन गरिएको हो ।भेलाले अनेरास्ववियू कपिलवस्तुको संयोजकमा दिपक अनुरागी र सह–संयोजकमा हरिसचन्द्र खनाललाई चयन गरेको छ भने राष्ट्रिय युवा संघ कपिलवस्तुको संयोजकमा शिव बञ्जाडेलाई चयन गरेको छ ।

दुवै संगठनको संयोजकको नेतृत्व गर्नुभएका अनुरागी र बञ्जाडेको नेतृत्वलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुका सचिव रामचन्द्र शाह ‘विष्णु’ले भेलामा घोषणा गर्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर प्रतिगामी कदम चालेको बेला अब अनेरास्ववियू र राष्ट्रिय युवा संघ कपिलवस्तुले पार्टीले निर्देशन दिएका सबै काम पूरा गर्ने पार्टीका जिल्ला सचिव शाहले विश्वास व्यक्त गर्नुभयो ।

एक हजार बढी विद्यार्थी र युवाको सहभागीतामा सम्पन्न भएको भेलालाई सम्बोधन गर्नै अनेरास्ववियूका पूर्व जिल्ला अध्यक्ष तथा सिद्धार्थ क्याम्पसका पूर्व स्ववियू सभापति शुसील पौडेलले केही दिन अघि अनेरास्ववियूको जिल्लामा नक्कली कमिटी गठन भएको भन्दै यो नै आधिकारीक कमिटी भएको दाबी गर्नुभयो । ओली समूहमा बढी दादागिरी शैली र गुण्डा प्रवृत्ति रहेको पनि उहाँले टिप्पणी गर्नुभयो ।

आक्रोसित हुँदै बोल्नुभएका पौडेलले भन्नुभयो, ‘गठित नक्कली अनेरास्ववियूको संयोजक बाबुराम अर्याल र सह–संयोजक दयाराम पौडेल हुन्, केही दिन अगाडि शिवराज नगरपालिकामा बैठक बस्यो रे ! त्यस्ता हचुवाको भरमा नक्कली अनेरास्ववियू गठन गर्ने केपीका चेलाहरु पतन भएर जान्छन् ।’ निर्वाचित कमिटीका सबै पदाधिकारीलाई उहाँले शैक्षिक आन्दोलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation