मुख्यमन्त्री शंकर पोखरेलद्धारा राजीनामा

संकटबाट गुज्रेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्।

उनले बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै उनले राजीनामा दिएको नेकपा एमाले लुम्बनी प्रदेशसभाका एक सदस्यले बताएका छन्।

मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दाेस्राेपल्ट अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन्। पोखरेलकाे राजीनामासँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ।

प्रदेश सभाको बैठक बस्नुअघि नै उनले पदबाट राजीनामा दिएका हुन्। बैठक आजै दिउँसो १ बजे बस्न लागेकाे थियाे। जसपाका तीन सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएसँगै मुख्यमन्त्री पोखरेल धरापमा परेका हुन्।

हाल विपक्षी गठबन्धनसँग ४१ सांसद छन्। त्यसबाहेक एकजना सभामुख पनि छन्। मुख्यमन्त्री (एमाले) सँग भने ३८ जना सांसद मात्र छन्। बहुमतका लागि ४१ जना सांसद आवश्यक पर्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation