उज्यालो पोस्ट,७ भाद्र, २०७८
बुटवल । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । रुपन्देहीसहित देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक विषेश हुन्छ ।
रुपन्देहीको बुटवल र सैनमैनामा पनि विभिन्न कार्यक्रम गरि गाईजात्रा मनाइदैँ छ । खासगरी आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । गाईजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ भने देशभरका नेवार समुदायलाई पनि बिदा दिएको छ ।
१६औं शताब्दी को अन्त्य तिर राजा प्रताप मल्लले आफ्नो दोस्रो पुत्र चक्रबरतेन्द्र मल्लको निधन पश्चात् भावविह्वल भै शोकमा डुबेकी पत्निलाई पुत्र वियोगको पीडा बाट मुक्त गर्न आफ्ना प्रजा मध्ये जो(जसका घरमा कोहि आफन्तको मृत्यु भएको छ उनिहरुलाई रङ्गी बिरङ्गी भेसभुसा र मुकुट लगाई एउटा गाई समेत लिएर जात्रा निकाल्न लगाई हास्दै रमाउदै हिडिरहेका मानिसलाई देखाउदै आफ्नी महारानीलाई सान्त्वना दिएर खुशी पारेका थिए।सोही अनुरुप विशेष गरि नेवारी समुदायले आफ्नो परिवार तथा आफन्तको सम्झनामा पर्वक रुपमा मनाउदै आईरहेका छन।