उज्यालो पोस्ट,२०७८ भदौ ८
काठमाडौं ।सेयर खरिद विवादमा तानिएका नेपाल स्टक एक्स्चेन्जका सिइओ चन्द्रसिङ साउदले राजीनामा दिएका छन्।
उनले आज पदबाट राजीनामाको घोषणा गरेका हुन्। असोज २२ गतेसम्म कार्यकाल रहे पनि सेयर खरिद विवादमा तानिएपछि उनले बीचमै राजीनामा दिएका हुन्।
साउदलाई एक कम्पनी खडा गरेर सोमार्फत सेयर खरिदबिक्रीमा संलग्न रहेको आरोप लागेको छ। यसअघि अर्थसमितिले उनीसँग यसबारे स्पष्टिकरण लिइसकेको छ। यसबारे अध्ययन गर्न विशेष कमिटी समेत बनेको छ।
नेप्सेको सिइओको कार्यकाल ४ वर्षको हुने गर्छ। २०७४ असोजदेखि उनले कार्यभार सम्हालेका थिए।
साउदले पत्रकार सम्मेलन गरी आफ्नो राजीनामाबारे जानकारी गराएका छन्।
पत्रकार सम्मेलनका क्रममा उनले भने ‘म नेपालको नागरिक पनि हुँ, नियम कानूनभित्र मैले काम गरेको छु। कमिटीले निश्पक्ष रुपमा अध्ययन गरोस्। मैले राजीनामा गरेर अध्ययनका लागि सहज वातावरण बनाएको छु’
नेपालको पुँजी बजारको विकासका लागि आफू प्रतिबद्ध भएर काम गरेको उनले बताए। सरकारको साथ रहेमा आफू फेरि पनि पुँजी बजारको विकासका लागि काम गर्न तयार रहेको उनको भनाइ छ।
उनी नेप्सेको सिइओ हुँदा अनलाइनबाटै लगानीकर्ता आफैले सेयर खरिदबिक्रीको आदेश दिन मिल्नेगरी ट्रेड म्यानेजमेन्ट सिस्टम टिएमएस लागू भएको थियो।
यसअघि नेपाल धितोपत्र बोर्डले ५१ कम्पनी जोखिममा रहेको भन्दै लगानी गर्नुपूर्व सावधान अपनाउन सुझाव दिएका बेला साउदले बोर्डको कार्यको विरोध जनाएका थिए।