उज्यालो पोस्ट,२०७८ भदौ १०
“बसाइँ हिंड्नेको ताँतीले बस्नेको मन रुवाउँछ,लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ” यसरी पन्चायत कालमा जनताका मन,मुटु छुने गीत गाउँदै गाउँ वस्ती डुल्ने जनकलाकार जेबी टुहुरे अर्थात जुठबहादुर खड्गी भौतिक रुपमा अब हामीवीच रहनुभएन ।
(जनवादी गायक तथा जनसांस्कृतिक महासंघ नेपालका संरक्षक जेबी टुहुरेको आज बल्खूस्थित बयोधा अस्पतालमा निधन भएको छ । उहाँ संविधानसभा सदस्य तथा नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।
बिहीबार निधन भएका जनगायक जेबी टुहुरेलाई नेकपा माओवादी केन्द्रले श्रद्धाञ्जली व्यक्त गरेको छ । टुहुरेको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
टुहुरेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाए । त्यस क्रममा सयौं सर्वसाधारण र माओवादी नेता कार्यकर्ताले उनलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
गायक जेबी टुहुरे भदौ १ गते मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । ७८ वर्षीय टुहरेका धेरै वटा मर्मस्पर्शी जनवादी गीतमध्ये ‘आमा दिदीबैनी हो कति बस्छौ दासी भै सुखको सधैं प्यासी बनेर’ निकै चर्चित छ ।