उज्यालो पोस्ट,२०७८ भदौ ११
काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले प्राकृतिक विपत्तिबाट समस्यामा परेकाहरूलाई तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न सरोकारवाला निकायका पदाधिकारीहरूलाई निर्देशन दिनु भएको छ । विपद व्यवस्थापन सम्बन्धमा गृहमन्त्रालयमा शुक्रबार भएको बैठकमा मन्त्री खाणले वर्षात भोलिसम्म पर्ने सम्भावना रहेको भन्दै क्षति हुने सम्भावना भएका क्षेत्रका पूर्वतयारी गर्न निर्देशन दिए ।
‘अहिलेसम्म यहाँहरू विपत्तिमा परेकाहरूको उद्धार, राहत र आवश्यक परेको स्थानमा बस्ती स्थानान्तरण गर्न देखाएको क्रियाशीलता सराहनीय छ,’ मन्त्री खाणले भने ‘वर्षात अझै पर्ने सम्भावना बलियो छ । क्षति पुर्याउने सम्भावना भएका स्थानमा कसरी रोक्न सकिन्छ । पूर्वतयारी गर्नुहोला । सबैको समन्वयनमा काम भइरहेकै छ । अझै पनि समन्वयमै काम हुन आवश्यक छ ।’
कतिपय स्थानमा पुल बगेर सडक अवरुद्ध मुख्य राजमार्ग नै अवरुद्ध भएका, कतिपय स्थानमा पहिरोले राजमार्ग अवरुद्ध भएका र बढी वर्षात भएका कारण गाउँ र बस्ती नै डुवानमा परेकाले ती अवस्थाबाट सहजतामा ल्याउन के गर्नु पर्ने हो समन्वयमा गर्न मन्त्री खाणले निर्देशन दिए ।
सडक अवरुद्ध भएका स्थानमा डाइभर्सन निर्माण, वेलीवृज निर्माण र जनशक्ति खटाएर उद्धार गर्ने काममा तदारुकता देखाउन पनि भनेका छन् । ‘प्राकृत्तिक विपत्तिबाट नागरिकको जीवन रक्षा गर्ने सवालमा उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्नुहोला,’ खाणले भने, ‘अहिलेसम्म काम गराइको गतीशीलता राम्रो छ । अझै उत्कृष्ठ बनाउनुहोला ।’
गृहसचिव टेकनारायण पाण्डेले अझै भोलि बिहानसम्म निरन्तर वर्षात हुने सम्भावना रहेकाले समन्वयमा काम गर्न निर्देशन दिए । ‘विपद्मा परेकालाई सुरक्षित स्थानमा ल्याउने, अस्थायी बसोबास निर्माण गर्ने कार्य एकीकृत रूपमा समन्वयात्मक तरिकाले काम गर्नुहोला,’ गृहसचिव पाण्डेले भने ।
बैठकमा राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, नेपाली सेनाका सहायक रथी रामनाथ ढुंगान, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल, जलस्रोत तथा सिंचाई विभाग, खानी तथा भुगर्भ विभाग, सडक विभागबाट आ–आफ्नो कार्यक्षेत्रमा पर्ने स्थानमा वर्षादपछि भएको क्षतिबारे विवरण प्रस्तुत भएको थियो ।
बैठकमा मन्त्रालयकी विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डेले वर्षातपछि अहिलेसम्म भएको प्राकृतिक विपत्तिबारेको तथ्यांक प्रस्तुत गरेकी थिइन् ।
जेठ ३१ गतेदेखि अहिलेसम्म ८५ जनाको मृत्यु भएको, ४४ जना वेपत्ता छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्डमा दुई पुल र केही डाइभर्सन भत्किएकाले सडक अवरुद्ध रहेको तथा विभिन्न स्थानमा बाढी र पहिरोले गराएको क्षतिबारे जानकारी गराइन् । पहाडी जिल्लामा पहिलो, तराईमा डुबान भएको उनको भनाइ छ ।