उज्यालो पोष्ट,भाद्र १५, २०७८
लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानी सेग्लेमा आगलागी हुँदा दम्पतीको मृत्यु भएको छ । धन्सारमा बस्दै आएका ५६ वर्षीय धर्मराज भण्डारी र उनकी पत्नी ५० वर्षीया पशुपतिको सोमबार राति साढे १ बजेतिर आगलागी हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
छिमेकी तिलक भण्डारीका अनुसार परिवारबाट छुट्टिएपछि दम्पती धन्सारमा बस्दै आएका थिए । उनीहरूका छोराछोरी छैनन् । ‘रातको समयमा आगलागी भएकाले निभाउने प्रयास गर्दा पनि सफल हुन सकेन,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णबहादुर कार्कीले सबै निदाएको समयमा आगलागी हुँदा तत्काल कसैले थाह नपाएको र घरभित्रै दम्पतीको जलेर मृत्यु भएको बताए । उनका अनुसार घरमा राखिएको खाना पकाउने ग्यास लिक भएर वा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्छ ।
‘घटनास्थलमा खुदी प्रहरी चौकीको टोली खटिएको छ । इन्सपेक्टर जगदीश रेग्मी नेतृत्वको प्रहरी टोली अनुसन्धानका लागि खटिएको छ । अनुसन्धानपछि मात्रै यकिन विवरण आउनेछ,’ उनले भने । उनका अनुसार धन्सार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।