बुटवल : रुपन्देहीको मोतिपूरबाट जग्गा मिलाइदिने भन्दै अबैध रुपमा पैसा असुल गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि बुटवल-१७ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा मिलाइदिने भन्दै स्थानीयसँग पैसा असुल गरिरहेका गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले ‘उजीरसिंह नगर नयाँ वस्ती विकास परिषद्, बुटवल रुपन्देही’को नाममा फर्जी बिल बनाएर स्थानीयसँग दुई-दुई सय रुपैयाँ उठाउँदै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । प्रहरी प्रवक्ता थापाका अनुसार स्याङ्जाका सोनु थापा, रुरु- १ गुल्मीका गोविन्द विक, मदाने गुल्मीका भूपाल सिंह घर्ती र मदानेकै कमला पन्थीलाई पक्राउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच रुपन्देहीको बुटवलको मोतीपूर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ। बुटवल १७ र १८ मा पर्ने सो क्षेत्रमा पर्ने औद्योगिक करिडोरको नाममा रहेको जग्गा कब्जा गरेर संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले अनिश्चित कालका लागि निषेधाज्ञा लगाएको जनाएको छ ।
बुटवल-१७ का वडाध्यक्ष सन्तबहादुर रानाले सुकुम्बासीका नाममा ओद्योगिक क्षेत्रको जग्गा अघिल्ला बर्षहरुदेखि नै अतिक्रमण भइरहेको जनाए । “रातिमा प्रशासनले गस्ती गरेर साध्य नै नहुने अवस्थामा पुगेको थियो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग निषेधित क्षेत्र घोषणा गरेको हो ।