रोल्पाको ; एकैघरका दिदीभाइसहित चारजना घर पुग्न पाएनन्

रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँनजिक बम विस्फोटमा परी एकैघरका दिदीभाइसहित चार बालबालिकाको मृत्यु भएको छ । गैरीगाउँका ११ वर्षीया विमला खत्री, उनका पाँच वर्षीय भाइ विजय खत्री, छिमेकी १४ वर्षीय नोखिराम डाँगी र १३ वर्षीय गौरव नेपालीको मृत्यु भएको हो । 

जंगलमा बाख्रा चराएर घर फर्किँदै गर्दा बिहीबार साँझ उनीहरू बाटोमा विस्फोटमा परेका हुन् । बम घटनास्थलमै थियो अथवा उनीहरूले जंगलमा भेटेर ल्याएका थिए भन्ने पुष्टि हुन नसकेको गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बताए । तर, घटनास्थलमा अर्को बम पनि भेटिएको छ ।

‘बाख्रा चराउन गएको जंगलबाट घटनास्थल एक किलोमिटर दूरीमा छ, देख्ने कोही नभएको र सबै बालबालिकाको ज्यान गएकाले बम जंगलबाटै ल्याएका थिए वा घटनास्थलमै थियो भन्ने स्पष्ट छैन,’ अध्यक्ष ओलीले भने, ‘घटनास्थलमा अर्को बम पनि भेटिएको छ । 

उनका अनुसार घटनास्थल वरपर बस्ती नभए पनि मान्छेहरू भने हिँडिरहने ठाउँ हो । विगतमा त्यहाँ शंकास्पद वस्तु नदेखिएकाले बालबालिकाले जंगलबाटै ल्याएको हुन सक्ने उनको आशंका छ । साँझ ६ बजेतिर विस्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए । 

प्रदेश ५ प्रहरी कार्यालयका डिएसपी नवराज पोख्रेलले साँझ अबेरसम्म विस्फोटको पूर्ण विवरण आउन नसकेको बताए । ‘हामीले घटनाको जानकारी पाउनेबित्तिकै नुवागाउँ र जुँगारबाट इन्स्पेक्टरको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाएका छौँ, तर पानी परेका कारण बाटो चिप्लो भएर पुग्न ढिला भएको छ,’ उनले भने । डिएसपी पोख्रेलले विस्फोट भएको बम टुइन्च मोर्टारजस्तो भएको बताए । तर, हालको हो वा युद्धकालीन भन्ने पुष्टि अनुसन्धानपछि मात्रै हुन सक्ने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation