कोरोना पुष्टि भएपछि नेपालगञ्जका चार स्थान सिल

दुवै संक्रमित भारतबाट फर्किएका थिए

नेपालगन्ज — नेपालगन्जका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय हुन् ।

भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै छ सय जना भागेका थिए । यी संक्रमित पनि भाग्नेमध्ये भएको प्रहरी स्रोतले बताएको छ ।

नेपालगञ्जका डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए । प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक अजान दिन आउजाउ गर्दै आएका थिए । जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो । उनका श्रीमती र छोरा तथा नजिकका छिमेकीहरुको पनि कोरोना जाँच गरिने भएको छ ।

नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि यो क्षेत्र सिल गरिएको हो । ती युवा धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए । डुडवा गाउँपालिकाकाका ती युवा लामो समयदेखि उनी घर छोडर मस्जिद बस्दै आएका छन् । उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो । उनको पनि बिहीबार स्बाव संकलन गरी जाँच गरिएको छ।

रुपन्देहीका युवा वैशाख ५ गते दिल्लीबाट फर्किएका थिए

रुपन्देहीमा कोरोना संक्रमण देखिएका युवा वैशाख ५ गते भारतको नयाँ दिल्लीबाट फर्किएको खुलेको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका १ सिपवाका यी २५ वर्षे युवा वैशाख ५ मा नेपाल फर्किएको पाइएको प्रदेश ५ का सामाजिक विकास मन्त्रालयको स्वास्थय शाखा प्रमुख उमाशंकर चौधरीले बताए । दिल्लीमा मजदुरी गर्ने युवालाई स्वदेश फर्केलगत्तै मर्चवार आदर्श मावीको क्वारेन्टाइनमा राखिएको थियो । उनको स्वास्थय अवस्था सामान्य छ ।

अहिले उनलाई बुटवलको रामनगरमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा राखिएको छ । उनको प्रारम्भिक स्वास्थ्य चेक गर्ने काम भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन राजेन्द्र खनालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation