दाङका विद्यालयमा भौतिक कक्षा पुनः सञ्चालन

दाङका विद्यालयमा भौतिक कक्षा पुनः सञ्चालन भएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि बन्द भएका दाङ घोराहीका विद्यालयहरु आजदेखि सञ्चालनमा आएका हुन् । उपमहानगरपालिकाले असोज २५ गतेदेखि कार्तिकको १५ गतेसम्मलाई पालिकाभित्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियोे ।
शिक्षा समितिको पहिलेकै निर्णयअनुसार कार्तिक १६ गतेदेखि घोराही उपमहानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरु सञ्चालनमा आएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिनुभयो।

महाशाखाका अनुसार धेरै विद्यालयले विद्यार्थीको चापअनुसार बिहान र दिउँसो गरेर दुई सिफ्टमा कक्षा सञ्चालन गरेका छन् । विद्यालयले स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने पनि गौतमले बताउनुभयो । यस्तै बबई गाउँपालिकाले पनि आजदेखि नै शिक्षण सिकाइका क्रियाकलापहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
विद्यार्थी, शिक्षक र अभिभावकको सहमतिमा लामो समयदेखि बन्द रहेको शिक्षण सिकाइको कार्यलाई पुनः सञ्चालन गर्ने निर्णय गरेको बबई गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत मोहन दाहालले जानकारी दिनुभयो। त्यस्तै तुल्सीपुर उपमहानगरपालिकाले पनि आजदेखि सिकाइ क्रियाकलाप अघि बढाइएको छ । तर लमही नगरपालिकाले भने मंसिर १ गतेसम्म विद्यालय बन्द गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation