साना व्यवसायी पलायन हुने, लाखौँको रोजगारी गुम्ने खतरा, सातामा ४२ लाख अन्डा र चल्ला नष्ट, उधारोमा दाना पाउन छाडेपछि सित्तैमा कुखुरा बाँडेर किसानद्वारा खोर खाली
मुलुकमा आत्मनिर्भर बन्दै गरेको पोल्ट्री क्षेत्रले लकडाउनका कारण दैनिक न्यूनतम ३५ लाख रुपैयाँ नोक्सानी व्यहोर्दै आएको छ । व्यवसायीले कुखुरा बिक्री हुन छाडेपछि सित्तैमा बाँडेका छन् । मोरङको बेलबारी, रुपन्देहीको बुटवल, बाँके, कैलालीको धनगढीलगायत १० भन्दा बढी जिल्लाका किसानले बिक्री नभएका र दाना नपाएपछि चल्लालाई गाडेर नष्ट गरेका छन् । कतिपयले अत्यन्त न्यून मूल्यमा बिक्री गरेर खोर खाली गरेको बताएका छन् ।
ह्याचका अन्डा बिक्री हुन छाडेपछि सातामा ४२ लाख अन्डा र चल्ला नष्ट गरिएको व्यवसायीको भनाइ छ । लकडाउन बढ्दै गए कुखुरा, अन्डा, ह्याचरी, दाना सबै क्षेत्रमा नोक्सानीको दर अझ बढ्ने व्यवसायीको भनाइ छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लकडाउनका कारण अत्यावश्यक उद्योग तथा सेवा क्षेत्रमा परेको असरबारे गरेको अध्ययनमा पोल्ट्री क्षेत्रले लकडाउनयता (१२ वैशाखसम्म) १० करोड रुपैयाँ क्षति व्यहोरेको उल्लेख छ । पोल्ट्री उद्योग २० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको र लकडाउन लम्बिँदै जाँदा यो क्षेत्रले ठूलो क्षति व्यहोर्ने रिपोर्टमा उल्लेख छ ।
पोल्ट्रीका विभिन्न क्षेत्रमध्ये लेयर्सपालनमा ३० अर्ब लगानी छ । दाना उद्योगमा १ खर्ब २५ अर्ब र ह्याचरीमा १ खर्ब २० अर्ब रुपैयाँ लगानी रहेको व्यवसायी बताउँछन् । लकडाउन बढ्दै गए वा लकडाउनको स्वरूपमा परिवर्तन नगरे यो क्षेत्र माथि उठ्न नसक्ने व्यवसायीको भनाई छ ।
नेपाल अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीका अनुसार देशभर लेयर्स कुखुरा पाल्ने फार्महरू साना–ठूला गरेर करिब २ हजार ८ सय छन् । लेयर्स कुखुरा अन्डा उत्पादनका लागि पाल्ने गरिन्छ । यस्ता फर्ममा २ सयदेखि २ लाखसम्म लेयर्स पाल्ने किसान छन् । तर, समयमा दाना खुवाउन नसकेर किसानहरूले उत्पादन दिने वेलाका कुखुराहरू सित्तैमा वा अति न्यून मूल्यमा बिक्री–वितरण गरिरहेका छन् । यसले अन्डाको उत्पादनसमेत घट्दो छ ।
अन्डा उत्पादन ३० प्रतिशत घट्यो
सामान्य अवस्थामा देशभर ३५ लाख अन्डा उत्पादन हुँदै आएको थियो । अहिले घटेर दैनिक २५ लाख छ । १ सय ६० रुपैयाँमा किनेको चल्ला हुर्काएर अन्डा पार्ने वेलाको कुखुरा पाल्न नसकेर ५० रुपैयाँमा बिक्री गरेको चितवनका किसान टीकाराम ओझाले गुनासो गरे । उनले धमाधम अन्डा पारिरहेका करिब १ हजार ५ सय कुखुरा सस्तो तथा कतिपय सित्तैमा बिक्री गरेर अहिले खोर खाली गरेको बताए । व्यवसायीका अनुसार अहिले ३० प्रतिशत कुखुरा समयअगावै खोरबाट हटाउन किसान बाध्य छन् ।
ह्याचरीले प्रत्येक साता ४२ लाख अन्डा र चल्ला नष्ट गर्दै
पोल्ट्री क्षेत्रमा सबैभन्दा बढी मार चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगलाई परेको व्यवसायीको भनाइ छ । ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलका अनुसार नेपालभरिबाट ब्रोइलर, लेयर्स र कलर ब्रोइलरका गरी प्रत्येक साता ४२ लाख अन्डा र चल्ला नष्ट गर्नुपरिरहेको छ ।
ह्याचरी उद्योगले अन्डाका लागि आफैं प्यारेन्ट कुखुरा पालेका हुन्छन् । प्यारेन्ट कुखुराको अन्डा बजारमा बिक्रीका लागि ल्याइँदैन । सातामा करिब ५५ लाख अन्डा ह्याचका लािग उत्पादन हुने गरेका छन् । त्यसमध्ये ८० प्रतिशत अन्डाबाट चल्ला निस्किन्छन् । अन्डा ह्याचका लागि राखेको २२औँ दिनमा चल्ला निस्किन्छन् । व्यवसायीले सातामा दुईपटक चल्लाका लागि अन्डा ह्याचमा राख्ने गरेका छन् ।
सामान्य अवस्थामा व्यवसायीले सातामा ५० लाख चल्ला उत्पादन गर्ने गरेको संघको दाबी छ । अहिले अन्डा उत्पादनमा केही कमी आएकाले ४२ लाख ह्याचका लागि राखे पनि बिक्री नहुँदा नष्ट गर्दै आएको अध्यक्ष पोखरेलको दाबी छ । संघका अनुसार ब्रोइलर ३५ लाख, लेयर्स २ लाख र कोइलरका ५ लाख गरी कुल ४२ लाख चल्ला नष्ट हुने गरेका छन् । संघका अनुसार देशभर ३ सय ह्याचरी उद्योग छन् । एउटा उद्योगले कम्तीमा ५ हजारदेखि बढीमा ४ लाख चल्ला उत्पादन गर्छन्, तर अहिले बजारमा चल्ला खरिद–बिक्री नहुँदा आफूहरू नष्ट गर्न बाध्य भएको उनीहरू बताउँछन् । नेपालभर ह्याचरी उद्योगमा १ खर्ब २० अर्ब लगानी रहेको संघको दाबी छ । अध्यक्ष पोखरेलले यस क्षेत्रको क्षतिलाई न्यूनीकरण गर्न १ वर्ष ब्याज मिनाहा गर्नुपर्ने र क्षति भएका चल्लाको भरपाई राज्यले गर्नुपर्ने बताए ।
उधारोमा दाना नपाउँदा किसान खोर खाली गर्न बाध्य
एउटा कुखुरालाई सामान्यतया दैनिक १ सय १० ग्राम दाना आवश्यक पर्छ । लेयर्स कुखुराले पालेको ६ महिनापछि अन्डा दिन सुरु गर्छ । करिब १८ देखि २० महिनासम्म अन्डा दिन्छ । सप्लायर्सहरूले आफैँलाई अन्डा र कुखुरा बिक्री गर्नुपर्ने, नियमित रूपमा दाना, चल्ला आफूले व्यवस्थापन गरिदिने मौखिक सहमति किसानसँग गरेको हुन्छ, तर अहिले लकडाउनको कारण देखाउँदै सप्लायर्सहरूले नगदविना दाना दिन छाडेपछि किसानहरू कुखुरा खोरबाट हटाउन बाध्य भएका छन् ।
लेयर्समा मात्र ३५ अर्ब लगानी जोखिममा
लेयर्स कुखुरामा मात्र ३५ अर्ब लगानी रहेको संघको दाबी छ । यस्तो अवस्थामा किसानलाई राहतको प्याकेज ल्याउन नसक्ने हो भने किसान पेसाबाट नै पलायन हुने अध्यक्ष केसीको भनाइ छ ।
बैंकबाट पैसा लिएर व्यवसाय गर्नेहरूको तत्कालका लागि लिलामीदेखि ब्याज छुट गर्न संघले माग गरेको छ । ‘५० प्रतिशत लगानी राज्यबाट थपेर किसानलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘राष्ट्र बैंकलाई समेत अनुरोध गर्ने भएका छौँ ।’
उनका अनुसार अन्डाको माग भने खासै घटेको छैन । अहिले वितरण असहज हुँदा किसान समस्यामा परेको उनको बुझाइ छ । किसानहरूले साइकल, ठेलागाडामा नै भए पनि गाउँ–सहरमा अन्डा बिक्री गरिरहेको उनी बताउँछन् ।
ब्रोइलरपालक २ हजार किसान झन् समस्यामा
ब्रोइलर कुखुरापालक किसानहरूको समस्या पनि बढ्दै गएको कुखुरापालक किसान संघका अध्यक्ष झनक पौडेलले बताए । देशभरि २ हजारभन्दा बढी किसानले ब्रोइलर कुखुरापालन गरेका छन् । अहिले नयाँ चल्ला किसानले नहालेको र भएका कुखुरासमेत टोलछिमेकमै बाँडिदिएको उनले बताए । उनका अनुसार सामान्य अवस्थामा दैनिक ९ लाख किलो कुखुराको मासु बिक्री हुने गरेको थियो । अहिले भने कुखुरा अभावमा दैनिक २–३ लाख किलो कुखुराको मासु बिक्री हुन मुस्किल छ ।
सवा खर्ब लगानीका दाना उद्योग पनि समस्यामै
कुखुरालाई खुवाउने दाना उद्योग पनि संकटमा छन् । देशभर १ सय ११ दाना उद्योग छन् । अहिले कुखुरा घट्दै जाँदा दाना खपत पनि घटेको छ । दैनिक ३२ सय टनसम्म कुखुराको दाना खपत हुँदै आएकामा लकडाउनयता दैनिक १४ सय टन पनि बिक्री हुन मुस्किल छ । अधिकांश उद्योग बन्द छन् । चलेका पनि आंशिक रूपमा सञ्चालनमा रहेका दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रविन पुरीले जानकारी दिए । उनका अनुसार अहिले ४० उद्योग मात्र सञ्चालनमा छन् । तर, आवश्यक कच्चा पदार्थसमेत अहिले प्राप्त छैन । मकै, भटमास, ढुटोलगायतका सबै कच्चा पदार्थ भारतबाट आयात हुन्थ्यो, त्यो अहिले कठिन छ ।
दाना उद्योगमा १ खर्ब २५ अर्बको लगानी रहेको संघको दाबी छ । उनका अनुसार नेपालमा अहिले अत्याधुनिक मेसिन जडितसहितका २० करोडदेखि ७० करोडसम्मको लगानी भएका कुखुराका दाना उद्योग सञ्चालनमा छन् ।
राहतस्वरूप १ वर्षको बैंक ब्याज मिनाहा गरिदिनुपर्छ : गुणचन्द्र विष्ट
अध्यक्ष, पोल्ट्री महासंघ
पोल्ट्री क्षेत्रमा डेढ वर्षअघि बर्डफ्लुले समस्या पारेको थियो । त्यसपछि पुनः सुधारिँदै गरेको अवस्थामा अहिले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि नराम्रोसँग ग्रस्त भएको छ । यो क्षेत्रलाई माथि उठाउने प्रयास गर्ने हो भने बैंक ब्याज छुटमा पहल गर्नुपर्छ ।
ह्याचरी उद्योग र कुखुरा फर्मले करिब ३० अर्ब रुपैयाँ बैंकबाट ऋण लिएका छन् । यो ऋणको ब्याज एक वर्षका लागि मिनाहा हुनुपर्छ । अहिले पोल्ट्रीका सबै क्षेत्रमा चालू पुँजीको अभाव छ । लकडाउन खुलेपछि पोल्ट्रीलाई जीवन दिन बैंकले हाल कायम भएको चालू पुँजीबराबरको रकम रि–फाइनान्सिङ गरिदिनुपर्छ । यसको किस्ता एक वर्षसम्म नतिर्ने र पहिलेको ऋण तथा अहिलेको चालू पुँँजीबराबरको रि–फाइनान्सिङको किस्ता एक वर्षपछि तिर्ने व्यवस्था हुनुपर्छ । साना कुखुरा फर्मलाई स्थानीय तहले तथ्याक संकलन गरी उचित राहत प्रदान गर्नुपर्छ । यसो गर्न सकियो भने आगामी २–३ वर्षसम्म मात्रै लकडाउनअघिको पोल्ट्री क्षेत्रको अवस्थामा पुग्न सकिन्छ । नत्र, नेपालको पोल्ट्री क्षेत्रले गति लिन गाह्रो छ ।
डोजर लगाएर खाल्टोमा पुरियो
धनगढी/दाना नपाएर किसानले ११ हजार कुखुरा खाल्टोमा गाडेको पोल्ट्री व्यवसायी संघ कैलालीले जनाएको छ । उद्योगीले उधारोमा दाना नदिने र उत्पादित कुखुरा र अन्डा बजार पठाउन नपाउँदा नगद तिर्न सक्ने अवस्था नरहेको कुखुरापालक किसानले गुनासो गरेका छन् । संघका अध्यक्ष भुवन पाण्डेले कैलालीमा दुई हजार तीन सयजना कुखुरापालन व्यवसायमा आबद्ध रहेको बताए । पोल्ट्री व्यवसायमा यहाँ ५ अर्ब लगानी रहेको र व्यवसायीबाहेक थप ५ हजारजनाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए ।
दाना नपाएर एउटै किसानका ५ हजार कुखुरा नष्ट
बाँके/लकडाउनका कारण दाना नपाएपछि बाँकेमा पालन भएका कुखुरा मर्न थालेका छन् । कुखुराको दाना नपाएर यहाँका झन्डै ७ हजार कुखुरा मरेको कुखुरा व्यवसायी संघ बाँकेका अध्यक्ष लालबहादुर खत्रीले बताए ।
बैजनाथ गाउँपालिका–२ पहाडीपुरका दीपक गुरुङले पालेका ५ हजार कुखुरा दाना नपाएर मरेका छन् । २ करोड २५ लाख लागतमा ५ हजार कुखुरा पालेका गुरुङको कुखुरा फर्ममा २५–३० वटा मात्र बाँचेका छन् । लेयर्स जातका कुखुराले दैनिक ४ हजार अन्डा दिने गरेका थिए । उनले दाना किन्न खोज्दा पनि नपाएको बताए । ‘दाता किन्न खोज्दा पनि पाइएन,’ उनले भने, ‘दाना नपाएर १५ दिनमा सबै कुखुरा मरेर सखाप भए ।’ कुल ११ कट्ठा जमिनमा उनले फर्म सञ्चालन गरेका छन् ।
प्रदेश १ मा कोल्ड स्टोर भरियो
विराटनगर/प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी हरिसिंह खत्रीका अनुसार सुनसरीको बराह क्षेत्रमा रहेको १२ टन, इटहरीमा रहेको २० टन र झापाको दमकमा रहेको १५ टन क्षमताको कोल्ड स्टोरमा कुखुरा भरिसकेका छन् । प्रदेशमा कुखुरा व्यवसायका लागि १ अर्बभन्दा बढीको लगानी छ । प्रदेशमा ६ सयभन्दा बढी कुखुरा फर्महरू छन् । मोरङ सुन्दरहरैँचा नगरपालिकामा रहेका कुखुरा किसानले बिक्री हुन नसकेपछि मारेर फाल्न थालेका छन् । सो नगरपालिकाको वडा नम्बर २ का सुवास फुँयालले ५ हजार कुखुरा मारेर पुरेका छन् ।
प्रदेश ५ का किसान पनि कुखुरा गाड्दै
अन्डा उत्पादक संघ, प्रदेश ५ का कोषाध्यक्ष गोपाल पाण्डेले किसानहरू अन्डा गाड्न थालेको बताए । प्रदेशमा करिब २ हजार व्यवसायी छन् । दाना खुवाउनसमेत समस्या भएपछि केही किसानले सय रुपैयाँमै पनि बिक्री गरिरहेका छन् । प्रदेश ५ मा अन्डाको उत्पादन वार्षिक करिब २३ करोड रुपैयाँको हुने गर्छ ।
प्रतिगोटा २५ रुपैयाँमा बिक्री
कञ्चनपुर/कञ्चनपुरमा १ हजार २ सय पोल्ट्री व्यवसायी रहेका छन् । कुखुरा तथा अन्डा व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष विक्रम नाथले लकडाउन भएपछि बजार अभाव रहेको बताए । ‘लकडाउन भयो । बजार बन्द हुँदा सबैभन्दा बढी हामी पोल्ट्री व्यवसायी मारमा परेका छौँ,’ उनले भने, ‘हाम्रो पीडा कसैले बुझिदिएन ।’ बजार बन्द हुँदा बिक्री नभएपछि केही किसानले २५ रुपैयाँ प्रतिकिलो कुखुरा बिक्री गरेको अध्यक्ष नाथले जानकारी दिए । बजारमा दाना अभाव भएपछि भीमदत्त नगरपालिका क्षेत्रका १८ पोल्ट्री व्यवसायीले १८ हजार कुखुरा खाल्टोमा हालेको उनले बताए ।
कोल्ड स्टोरलाई १ सय १५ रुपैयाँमा दिन बाध्य
धादिङ/ठूलो मिहिनेत गरेर हुर्काएका कुखुरा लकडाउनको मौका छोपेर कोल्ड स्टोरका व्यवसायीले न्यून मूल्यमा खरिद गर्न थालेपछि धादिङका किसानहरू मर्कामा पर्न थालेका छन् ।
धादिङको नीलकण्ठ नगरपालिका–२ बसाहका किसान ईश्वर गुरुङको खोरमा अझै १ हजार ८ सय कुखुरा छन् । ‘मूल्यमा मात्र होइन, तौल लिँदासमेत ठग्ने गरेको छ । आफ्नो गाडीमा तौल लिँदा ५५ केजी भएको कुखुरा १० मिनेटको दूरीमा रहेको कोल्ड स्टोरको काँटामा जोख्दा ५० केजी हुन्छ,’ उनले भने ।
व्यवसायबाट पलायन सोचमा व्यवसायी
झापा/झापामा करिब १२ सय किसान ब्रोइलर कुखुरापालनमा संलग्न छन् । जिल्ला कुखुरा व्यवसायी संघका सचिव हरि तिम्सिनाका अनुसार जिल्लामा प्रत्येक महिना ६ लाख कुखुरा उत्पादन हुँदै आएको छ । तर, दाना नपाउने, बजारसम्म लान नसक्ने समस्याका कारण व्यवसाय नै धरापमा परेको उनी बताउँछन् । जिल्लामा कुखुरापालन व्यवसायले करिब १ हजारलाई रोजगारी दिएको छ । दमक–१० मा रहेको न्यू सिंहवाहिनी कृषि फर्मका ४ हजार ५ सय लेयर्स कुखुरा लकडाउनका कारण मरेका छन् । दमक–१० कै जयपाथीभरा सिंहवाहिनी एग्रो फर्मका सञ्चालक डम्बर विष्ट पेसा नै छाड्ने योजनामा छन् ।
कुखुरा सुँगुरलाई चारो
धनकुटा/ कोभिड–१९ को संक्रमणका कारण सरकारले अचानक लकडाउन घोषणा गरेपछि आफूले पालेका १ हजार ४ सय ब्रोइलर कुखुरा पकाएर बंगुरलाई खुवाएको धनकुटा नगरपालिका–७ मदनचोकमा रहेको कामना लाइभस्टक एन्ड एग्रिकल्चरका प्रोपाइटर प्रदीपसिंह राईले बताए । ‘कुखुरा पाल्दा लगानी मात्र बढ्ने भयो । बिक्री गर्न सक्ने अवस्था छैन । त्यसैले सबै कुखुरा पकाएर बंगुरलाई खुवाइयो ।’ उक्त कुखुरा खरिद गरेर पाल्दा करिब ६ लाख खर्च भएको थियो ।
२ हजार ब्रोइलर खोरमै थन्किए
खोटाङ/जिल्लाका लेयर्स कुखुरा पाल्ने ९–१० व्यवसायी र ४० भन्दा बढी ब्रोइलर कुखुरा व्यवसायीले उत्पादन गरेको मासु तथा अन्डाको किनमेल ठप्प भएको पोल्ट्री व्यवसायी संघका अध्यक्ष सुवास जोशीले बताए । मासु बिक्री नभएपछि जिल्लामा करिब १२ हजारवटा तयारी अवस्थाका ब्रोइलर खुकुरा खोरमै राखिएको त्रिशक्ति पोल्ट्री फर्मका सञ्चालकसमेत रहेका संघका अध्यक्ष जोशीले बताए ।
चल्ला कोरल्ने ९५ प्रतिशत अन्डा खाल्टोमा
पोखरा/कास्कीमा दैनिक ७० हजार केजी कुखुराको मासु बिक्री हुने गरेकामा अहिले त्यसको २५ प्रतिशत अर्थात् १७ हजार ५ सय केजीको हाराहारीमा मात्र माग रहेको मासु व्यवसायी संघ कास्कीका अध्यक्ष गोविन्द तिवारीले जानकारी दिए ।
पोखराको हिलपोइन्ट पोल्ट्री फर्ममा ५० हजार कुखुरा पालिने गरेकामा अहिले १२ हजारको हाराहारीमा मात्र कुखुरा राखिएको उक्त फर्मका सञ्चालक तथा बराल फिड इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक चन्द्रकान्त बरालले बताए । उनले फर्ममा रहेका १० हजार कुखुरा खाल्टोमा पुर्नुपरेको बताए ।
आठ सय कुखुरा व्यवसायीको खोर रित्तै
हेटौँडा/मकवानपुर कुखुरा व्यवसायी संघका अनुसार करिब ८ सय व्यवसायीको कुखुरा राख्ने खोर रित्तै छ । जसकारण कुखुरापालनमा गरेको लगानी उच्च जोखिममा परेको छ । २ वर्षअघि ३ हजार व्यवसायी रहेको मकवानपुरमा १४ महिनाअघि बर्डफ्लुका कारण १ हजार ५ सय यो व्यवसायबाट विस्थापित भएका थिए । अहिले कोरोना प्रभाव र लकडाउनका कारण ८ सय व्यवसायीको कुखुराको खोर रित्तै रहेको संघका अध्यक्ष राजु अधिकारीले बताए । १४ लाख कुखुरा रहेको यस क्षेत्रमा अहिले ६ लाख मात्र कुखुरा छन् । ह्याचरीसहित ५ अर्ब लगानी रहेको अध्यक्ष अधिकारीको दाबी छ ।
५० हजार अन्डा फर्ममा थन्कियो
तनहुँ/अन्डा उत्पादन कृषक समूहका अध्यक्ष रविन भुजेल रहेको जिल्लाको पोल्ट्री क्षेत्रमा करिब डेढ अर्बको लगानी छ । उनले मात्र ७ करोड लगानी गरेर २५ हजार कुखुरा पालेका छन् । अन्डा बिक्री भएको छैन । कुखुरालाई खुवाउँदै आएको दानामा पनि आधा कटौती गरेका छन् । व्यवसायीको पोल्ट्री फर्ममा ५० हजारभन्दा बढी अन्डा स्टक रहेको अन्डा उत्पादन कृषक समूहका अध्यक्ष भुजेलको भनाइ छ ।
सस्तो बेच्दा पनि बिक्री भएन
सिराहा/सिराहा नगरपालिका–२२ हकपारामा पेजल पशुपक्षी तथा कृषि फर्म सञ्चालक धर्मेन्द्र यादवले ४ सय किलो कुखुरा ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेको गुनासो गरेका छन् ।
उनले ४ वटा खोरमा ८ हजार कुखुराका चल्ला राखेका थिए । लकडाउनका कारण डिलरले तयार भइसकेको कुखुरा नलगेपछि ५० रुपैयाँ प्रतिकिलो बेच्न बाध्य भएको यादवले बताए ।
गोप पोल्ट्री पशुपक्षी मत्स्य कृषि फर्ममा रहेका कुखुरा ५५ दिन पुगिसकेका छन् । फर्म सञ्चालक महेशकुमार गोपले लकडाउनले गर्दा डिलरले कुखुरा नउठाउँदा लगानी डुब्न लागेको बताए । लकडाउनभन्दा पहिले १ सय ६० देखि १ सय ८० प्रतिकिलो बिक्री हुँदै आएकोमा अहिले १ सय २० रुपैयाँमा बेच्नुपरेको थियो ।
नयाँपत्रिका डटकमबाट साभार